‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर युट्युबको ट्रेन्डिङमा, प्रतिक्रिया पनि सकारात्मक

‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर युट्युबको ट्रेन्डिङमा, प्रतिक्रिया पनि सकारात्मक

काठमाडौं : कात्तिक १५ देखि रिलिज हुने गन्धर्व समूदायको कथामा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरलाई दर्शकले मन पराएका छन्। चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् भने फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङमा छ।

यो ट्रेलर यतिबेला युट्युबको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ भने प्रतिक्रिया पनि सकारात्मक नै छन्। पुर्ख्यौली पेसा धानेर नेपाली संस्कार र संस्कृति बचाउँदा समाजले कसरी हेला गर्छ, माथि उठ्ने प्रयास गर्दा समाजका नवधनाढ्य तथा बुज्रुकहरूले नै कसरी दबाउने प्रयत्न गर्छन्, समाजसँग विद्रोह गर्नुभन्दा मौन बसेर जिन्दगीलाई दुःखकै सागरमा पूर्ववत् छोडिदिने अवस्थामा कसरी गन्धर्व समुदायका अभिभावक पुग्छन् भन्ने कथा ‘पूर्णबहादुरको सारङ्गी’ले भन्ने संकेत ट्रेलरले देखाएको छ।

हजुरबाबाट बाबुमा सरेको सारङ्गीको जिम्मेवारी छोराले धान्छ या धान्दैन मूल कथा यसैको वरिपरि देखिन्छ। छोराले सारङ्गीको जिम्मेवारी लियोस् भन्ने चाहने अनि पढेर आफ्नो छोरा सारङ्गीसँगै आउने आर्थिक जर्जरताबाट मुक्त होस् भन्ने चाहने अर्को पुस्ताबीचको सोचको भिन्नतासमेत ट्रेलरमा देखिन्छ।

निर्देशक सरोज पौडेलले यी कलाकारको माध्यमबाट इमान्दारितापूर्वक कथा भन्ने प्रयास सिनेमाले गरेको देखिँदा यसले दर्शकको ध्यान खिच्न सफल भएको हो। दर्शकको ध्यान यसका कन्टेन टिजर, ट्रेलर, गीत र त्यसअघि यसको मोसन पोस्टरले नै खिचिसकेको थियो।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ। 

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन्। सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन्।

फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ। 

फिल्मलाई नेपाल र अन्तराष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ। 

कात्तिक ३, २०८१ आइतबार १२:३५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।