प्रकाशमान सिंहको स्वीकारोक्ति 'हामीसँग जादुको छडी छैन, सय दिनमा परिणाम देखाउन सकिएन'
काठमाडौं : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकिएको स्वीकार गरेका छन्।
आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताए।
उनले भने, ‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले लक्ष्य अनुसार धेरै कामहरू गरिसकेको छ। तर, आउनासाथ जादुको छडी कसैसँग छैन। सहर बनाउने कुरा सय दिनमा बन्दैन। जे जे समस्याहरू छन् ति चाहिँ सम्बोधन गर्नको लागि समय लाग्ने गर्छ।'
तरपनि आफूहरूले पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरू गरेको दाबी गर्दै उनले थपे, 'कुनै उल्लेखनीय काम मैले जादु नै गरे भन्ने अवस्था चाहिँ छैन।’
उनले शहरहरू व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए।
उनले शहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरूमा सुझाव सल्लाह दिन पनि आग्रह गरे।
जे काम गरे पनि खुला रुपमा गर्न चाहेको भन्दै उनले मिडियामा समाचारहरू नराम्रो कामको मात्र आउने तर राम्रो काम गरेको समाचार नआउँदा दुःख लाग्ने गरेको बताए।
कात्तिक ४, २०८१ आइतबार १२:११:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।