सुडानमा ३० लाख बढी मानिसहरू हैजाको जोखिममा

सुडानमा ३० लाख बढी मानिसहरू हैजाको जोखिममा

एजेन्सी : संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ। 

युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करीब ३० लाख मानिसहरू हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स मार्फत जनाएको हो।

युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ।

द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरु बन्द रहेको तथा अग्रपङ्क्तिमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई  महिनौँदेखि तलब भुक्तानी नगरिएको युनिसेफले जनाएको छ।  

आन्तरिक द्वन्द्व सुरू भएदेखि  हैजा, मलेरिया र डेंगी ज्वरोजस्ता महामारी रोगहरू फैलिँदा सयौँको मृत्यु भएको छ।

सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै  द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिँदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो।   

कात्तिक ३, २०८१ आइतबार १०:४४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।