बङ्गलादेशमा युनुसले कहिले गराउँछन् चुनाव?

बङ्गलादेशमा युनुसले कहिले गराउँछन् चुनाव?

एजेन्सी : बङ्गलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताएका छन्।

अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरुलले जारी एक विज्ञप्तिमा भनेका छन्, 'अर्को वर्ष निर्वाचन सम्भव होला, तर यसमा धेरै कुरा छन्। सुधार र राजनीतिक सम्झौताले चुनावी वातावरण बनाउँछ। चुनाव गर्नका लागि निर्वाचन आयोग गठन, मतदाता नामावली तयार गर्नेलगायतका काम पनि आवश्यक छ आदि हुन्। यदि यी कुराहरू पूरा गर्न सकियो भने अर्को वर्ष चुनाव हुन सक्छ।'

तथापि नजरुलले यसलाई आफ्नो प्रारम्भिक अनुमान मात्र भएको उल्लेख गरेका छन्।  

उनले भने, 'निर्वाचन महत्वपूर्ण नीतिगत निर्णय हो। यसको समय सरकारका प्रमुख सल्लाहकारको नेतृत्वमा तोकिनेछ,' कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सल्लाहकार (मन्त्री) डा. आसिफ नजरुलले भने, 'यो घोषणा गर्ने अधिकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र यसको सल्लाहाकारका हैसियतमा मेरो पनि हो।'

त्यसअघि बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गर्दै चुनावअघि सुधार आवश्यक रहेको बताएका थिए।

नेतृ शेख हसिनाले गत अगस्ट ५ मा प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि बङ्गलादेशमा राजनीतिक परिस्थिति तरल बनेको छ। गत अगस्ट ५ मा बङ्गलादेशबाट सैनिक विमानबाट भारत आएकी पूर्व प्रधानमन्त्री हसिना हाल भारतमा बस्दै आएकी छन्।

सरकारी जागिरका लागि कोटा प्रणाली अन्त्यको माग गर्दै विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनमा तत्कालीन सरकारको दमनसँगै फैलिएको सरकार विरोधी प्रदर्शनले हसिनालाई देश नै छोडी विदेशमा शरण लिन बाध्य बनाएको छ। 

तर, अहिले उनकाविरूद्ध त्यहाँको एक अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ। 

कात्तिक ३, २०८१ आइतबार ०९:३३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।