झापामा बसको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले बसलाई ढुङ्गामुडा गरी आगजनी गरे

झापामा बसको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले बसलाई ढुङ्गामुडा गरी आगजनी गरे

झापा : पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका-५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका-७ बस्ने ५५ वर्षीय पदम मुकारुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए। 

राईको घटनास्थलमै मृत्यु भएपछि स्थानीयले आक्रोशित भई त्यस बसलाई ढुङ्गामुडा गरी तोडफोड गरी आगजनी गरेका छन्। 

बस चालक जिल्ला गौरादह नगरपालिका-१ बस्ने वर्ष ३५ वर्षीय सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिई थप अनुसन्धान  गरिरहेको प्रवक्ता चन्दले जानकारी दिए।  

कात्तिक ३, २०८१ शनिबार २१:४५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।