पाँच दिनभित्र सकिने गरी तीब्र गतिमा खुर्कोटको पुल बनाइरहेको छ नेपाली सेनाले
रामेछाप : रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रूपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ। सेनाले बेलिब्रिजको काम तीव्र रूपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो।
यही असोज १० देखि परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा पुल (रामेछापतर्फको) बगाउँदा रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौंसम्मको छोटो दूरीको सडकमार्गको सञ्जाल टुटेको थियो।
अब केही दिनमा नै यातायात सञ्चलन गर्न मिल्नेगरी तीव्र गतिमा काम भइरहेको र सोका लागि आवश्यक कच्चापदार्थ र अन्य व्यवस्थापनका कामका लागि संघीय ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री पूर्णबहादुर तामाङले विशेष पहल गरिरहेको रामेछाप नगरपालिकाका प्रवक्ता समीर कार्कीले बताए।
त्यस पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी अवागमन गर्न तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ। हाल पुलको पाता विछ्याउने र लेवल मिलाउनेलगायत अन्य काम भइरहेका छन्।
पुल निर्माण सम्पन्न भए पनि पुल वारी मन्थलीतर्फको करिब दुई सय मिटर सडक थप मर्मत नहुँदासम्म निर्वाध रूपमा दुईतर्फी सवारी आवागमन गर्नसक्ने अवस्था छैन। एकतर्फी रूपमा भने सावधानीपूर्वक सञ्चालन गर्न सकिने स्थानीय पशुपति न्यौपानेले बताए।
खुर्कोटको पुल बगाएपछि रामेछाप र दोलखावासीलाई तराईका विभिन्न भागमा आवतजावत गर्नका र खाद्यान्न ढुवानी गर्नका लागि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने सित्खाको पुलमार्फत वैकल्पिक सडकमार्ग प्रयोगगरी आवतजावत गर्ने व्यवस्था मिलाइएको भए पनि त्यस बाटोमार्फत ल्याइएका खाद्यान्न सामग्री महंगिएको थियो।
यसअघि बीपी राजमार्ग सञ्चालन हुनुपूर्व रामेछापको सदरमुकाम मन्थलीलगायत आसपासका क्षेत्रबाट मानिसले काठमाडौं आवतजावत गर्न मन्थलीबाट चरिकोट-मुडे हुँदै धुलिखेलको वैकल्पिक बाटो प्रयोग गर्दै आइरहेका थिए।
नेपाली सेनाका अनुसार अबको तीनदेखि पाँच दिनभित्रबाट मात्र पुलबाट सवारी अवागमन गराउन सकिन्छ।
कात्तिक ३, २०८१ शनिबार १८:१६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।