कर्णाली : प्रेम सम्बन्धमा परेर सानै उमेरमा घर छाडेर भारत जाँदा बालबालिका बेचिने जोखिम बढ्यो

कर्णाली : प्रेम सम्बन्धमा परेर सानै उमेरमा घर छाडेर भारत जाँदा बालबालिका बेचिने जोखिम बढ्यो
फाइल

काठमाडौं : गत असोज २७ मा सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका तीन दिनपछि नेपालगन्जस्थित सीमानाका जमुनाहमा फेला परे। भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो। 

जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई अभिभावकको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्स्पेक्टर उपेन्द्र बुढाथोकीले जानकारी दिए। 

'दुई बालबालिकालाई हामीले नाकाबाट फिर्ता गरायौं, दुई जनाको खोजतलास गर्दा गाउँमै लुकेर बसेको भेटियो', उनले भने, 'प्रेम सम्बन्धमा परेर सानै उमेरमा बालबालिकाले घर छाडेर भारत जाने क्रम बढेको छ।'

अधिकांश भारत जान लागेको महिला तथा बालबालिका प्रेमजालमा परेको बताउने इन्स्पेक्टर बुढाथोकीले बताए। 

उनले दशैंमा सुर्खेत, सल्यानलगायत जिल्लाबाट उमेरै नपुगेका बालबालिका घरबाट भागेर भारत जाने क्रममा नियन्त्रण लिई अभिभावकको जिम्मा लगाएको बताए। 

मानव बेचबिखन तथा ओसारपसारविरूद्ध कार्यरत संस्था माइती नेपाल नेपालगन्ज कार्यालयमा दशैं अवधिमा महिला तथा बालबालिका हराएको भनी ४९ जनाको खोजतलासको निवेदन दर्ता भएको छ। हराउने ४९ मध्ये ३२ जना १८ वर्षमाथिका महिला, १२ जना १८ वर्षमुनिका बालिका र पाँचजना बालक रहेको माइती नेपाल नेपालगञ्ज कार्यालयका संयोजक केशव कोइरालाले बताए। 

हराएकामध्ये आठजना फेला पारेको समेत माइती नेपालले जनाएको छ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट चिनाजानी भएकै आधारमा विश्वास मानी भारत जाने महिला तथा बालिका मानव बेचबिखनको उच्च जोखिममा रहेको अधिकारकर्मी बताउँछन्।

माइती नेपालले बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकाबाट दशैं अवधिमा ४५ महिला तथा बालबालिकाको उद्धार गरेको छ। गत असोज १ देखि ३० सम्म जमुनाह नाका हुँदै भारत जाने क्रममा जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई माइती नेपाल नेपालगन्जले सीमा नाकाबाट उद्धार गर्यो। 

तीन बालक १८ वर्षमुनिका, १७ र १८ वर्षमाथिका २५ महिला तथा बालबालिकालाई जमुनाह नाकाबाट उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले बताए।  

कात्तिक ३, २०८१ शनिबार १७:०२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।