चितवनमा 'जनयुद्ध' लडेका नेताहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास

चितवनमा 'जनयुद्ध' लडेका नेताहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालागयतका नेताहरू चितवन पुगेका छन्। 

उनीहरुलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवं शुभेच्छुकहरुले स्वागत गरेका थिए। बेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर-१३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन्।

न्यौपाने र अन्य शहीदहरुको सम्मानका गर्न लागिएको कार्यक्रमका लागि प्रचण्ड, क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य (किरण), नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई निम्ता गरिएको छ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि निम्ता गरिएको कार्यक्रमका संयोजक प्रकाश दवाडीले जानकारी दिए। विभाजित भएका माओवादीका पुराना नेताहरूलाई आयोजकले एउटै मञ्चमा उभ्याउने प्रयास गदै एकताका लागि प्रयास गर्ने दवाडीको भनाइ छ।

'जनयुद्ध'को समयमा एकताबद्ध भएर लडेका नेताहरु विभिन्न समयमा पार्टी विभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेको भएपनि आगामी दिनमा एउटै छातामुनी ल्याउने प्रयास गरेको आयोजकले जनाएको छ। 

कात्तिक ३, २०८१ शनिबार १५:१०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।