गगनबारे मनिष झा : रवि सहकारी ठगीमा जोडिनुअघि ‘राजनीतिक गुरू’, रवि पक्राउपछि ‘गगन तिमी पनि नाङ्गियौ’

गगनबारे मनिष झा : रवि सहकारी ठगीमा जोडिनुअघि ‘राजनीतिक गुरू’, रवि पक्राउपछि ‘गगन तिमी पनि नाङ्गियौ’

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा प्रदर्शन जारी छ। रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो।  

शुक्रबार प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका हुन्। 

प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर्, भ्रस्टहरूलाई कारबाही गर्, सहकारी पीडितलाई न्याय दे’ जस्ता प्लेकार्ड बोकेका छन्। दुईतिहाइको सरकारले दम्भ देखाएर पार्टी सभापतिलाई पक्राउ गरेको प्रदर्शनकारीहरूको भनाइ छ।

प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारले अदालतमासमेत आफ्नो मान्छे राखेर मनपरी गरेको आरोप लगाए।

प्रवक्ता झाले भने, ‘यो सरकारले सबै ठाउँमा आ-आफ्ना मान्छे पुर्याउने, आफ्नो कार्यकर्ता भर्ती गर्ने काम गरिरहेको छ। हुँदाहुँदै अदालतमा पनि आफ्नो कार्यकर्ता पुर्याएको छ। यसको परिणाम हामीले देखिसकेका छौं यो सरकार नाङ्गिएको छ।’

उनले भुटानी काण्डमा मान्छेलाई  बेचेर सरकारले आफ्नो मन्त्री बनाएको होइन भनेर प्रश्न गरे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लोकतन्त्रको सबैभन्दा ठूलो ठग भएको उनको आरोप छ।

उनले भने, ‘भुटानी काण्डमा मान्छेलाई बेचेर सरकारले मन्त्री बनाएको होइन? सदियौंदेखि भ्रष्ट लिएर हिँड्ने प्रवृत्ति हाबी भइसकेको छ। शेरबहादुर देउवा त सबैभन्दा ठूलो ठग हुन्। लोकतन्त्रको सबैभन्दा ठूलो ठग हुन्। त्यसको जवाफ हामीले दिनैपर्छ।’

झाले नेपाली कांग्रेसको महामन्त्री गगन थापालाई पनि धन्यवाद दिँदै व्यङ्ग्यात्मक रूपमा भने, ‘गगन थापा तिमी पनि नाङ्गियौ अब, किनकी अब देशमा युवा पुस्ताले राजनीतिक गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे किन बोल्न सक्दैनौं। नयाँ दल, पढेलेखेका मान्छे, यहीँ राजनीतिक अभ्यास गर्न चाहने मान्छे देखेर किन आत्तिएको?’ 

रास्वपामा आउनुअघि कांग्रेसबाट राजनीति गरिरहेका झा कांग्रेसमाछँदा गगन निकट थिए। उनले गगन थापाको सचिवालयमा रहेका लामो समय कामसमेत गरेका छन्। 

रास्वपामै आएपछि पनि केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा उनले गगन थापालाई आफ्नो राजनीतिक गुरू भनेका थिए। त्यसक्रममा नयाँ मान्छेहरूलाई मौका दिने नेता कांग्रेसभित्र गगन मात्रै रहेको उनले भनेका थिए।

तर, त्यसबेलासम्म सभापति रविको सहकारी ठगी प्रकरण सतहमा आइसकेको थिएन। 

कात्तिक २, २०८१ शनिबार १४:५२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।