डा. राजनको उपचार अनुभव : पाठेघर बाहिरै बस्यो आठ हप्ताको गर्भ, यसरी बाँचिन् डिम्ब नली फुटेर मृत्युको मुखमा पुगेकी गर्भवती

डा. राजनको उपचार अनुभव : पाठेघर बाहिरै बस्यो आठ हप्ताको गर्भ, यसरी बाँचिन् डिम्ब नली फुटेर मृत्युको मुखमा पुगेकी गर्भवती

डा. राजन घिमिरे ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपीइएम)’ विशेषज्ञ चिकित्सक हुन्। समग्र रोगको उपचार गर्ने चिकित्सकीय विधाको अध्ययन गरेका उनले चिकित्सकीय पेशाका शिलशिलामा विशेषगरी दुर्गमका बिरामीले भोग्नुपरेका सास्ती नजिकबाट नियालेका छन्। पेशाको शिलशिलामा देखे-भागेका यस्तै सुख-दुःखका अनुभव डा. राजनले उकेरासँग साटेका छन्।

रक्सीले मातेको सुरमा आगोमा परेकी ती आमै...
तेह्रथुम जिल्ला अस्पतालमा काम गर्दाको एउटा घटना डा. राजनको मानसपटलमा ताजै छ। घटना करिब चार वर्षअघिको हो। करिब ६० वर्षीया घाइते आमैलाई अस्पताल पुर्याइयो। अत्यधिक जाँडरक्सी सेवन गर्ने तीन आमै रक्सीले मातेको सुरमा आगोमा ढलिछन्।

आगोले आमैको विशेषगरी दायाँतर्फको हात लगायत शरीरको भाग जलेको अवस्था थियो। दायाँतर्फको आँखा र हातमा गहिरो  क्षति पुगेको थियो। आँखाको माथिल्लो भागको छाला जलेर हड्डी बाहिरैबाट देखिइरहेको थियो। आगोमा घोप्टिएका कारण विशेषगरी अनुहारको दायाँतर्फको भाग नै जलेर दायाँतर्फको आँखाले काम नगर्ने अवस्थामा पुगेछ।

कमजोर आर्थिक अवस्थाका कारण ती आमैको धरान लगायत अन्यत्र सुविधासम्पन्न अस्पतालमा उपचारका लागि लानसक्ने अवस्था थिएन। त्यसैले सीमित सुविधाका बाबजुद तेह्रथुम जिल्ला अस्पतालमा नै ती आमैको उपचार गरियो।

तर, चिकित्सकको टीमले केही गरे पनि दायाँतर्फको हात बचाउन सम्भव नहुने अवस्था निम्तियो। हात नकाट्ने हो भने हातबाट शरीरमा संक्रमण फैलिएर ती आमैको ज्यानै जाने जोखिम भयो। त्यसैले चिकित्सकको टीमले दायाँतर्फको नाडी र कुइनोबीचको भागमा काटेर फाल्यो।

करिब दुई महिनाको औषधि उपचारपछि ती आमैको ज्यान बाँच्यो। तर, जलेका कारण ती आमैको दायाँतर्फको आँखाको ज्योति र हात गुम्यो। आँखाको ज्योति गुमेकाले आँखाको थप उपचार गर्नुपर्ने थियो। त्यसका लागि चिकित्सकको टिमले उनलाई काठमाडौं जान सुझायो।

तर, कमजोर आर्थिक अवस्थाका कारण ती आमै थप उपचारका लागि अन्यत्र जान सकिन्छन्। केही संस्थाले ती आमैको उपचारका लागि तदारुकता देखाएका थिए। यद्यपि अस्पतालबाट डिस्चार्ज भएपछि पुनः दैनिक रक्सी सेवन गर्न थालेपछि ती संस्थाहरू पनि पछि हटेछन्। ती आमैको उपचार गरेको केही समयपछि डा. राजन तेह्रथुम अस्पतालबाट सरुवा भएर हिँडे।

गर्भ बसेको पाठेघर नली फुटेकी महिलाको ज्यान धन्न बाँच्यो
तेह्रथुम जिल्ला अस्पतालमा नै काम गर्दा एक जना महिलालाई बचाएको प्रसङ्ग डा. राजन कहिल्यै भुल्दैनन्। चार वर्षअघि कोरोना भाइरस संक्रमणले उग्र रूप लिइरहेको समयमा पेट दुखेका कारण करिब २५ वर्षीया गर्भवती महिलालाई अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो।

चिकित्सकको टीमले ती महिलाको स्वास्थ्य परीक्षण गर्दा पाठेघर बाहिरको नलीमा भ्रूण बसेको र उक्त नली फुटेर आन्तरिक रक्तश्राव भएर स्वास्थ्य अवस्था जटिल बनेको पत्ता लाग्यो। अस्पताल पुर्याउँदा महिलाको रक्तचाप न्यून भएर अर्धचेत अवस्थामा थिइन्।

नली फुटेर आन्तरिक रक्तश्राव भएका कारण जति सक्दो चाँडै शल्यक्रिया गरी रक्तश्राव रोक्नुपर्ने थियो। केही बेर मात्रै ढिला भए महिलाको मृत्यु करिब निश्चित थियो। तेह्रथुमबाट धरान र विराटनगर पुर्याउन ६/७ घण्टा लाग्ने भएकाले बिरामीको परिवारसँग सल्लाह गरेर चिकित्सकको टीमले शल्यक्रिया थाल्यो।

चिकित्सकको टीमले शल्यक्रिया गरी रक्तश्राव भएर पेटभित्र रहेको करिब अढाई लिटर रगत निकाल्यो। डा. राजनले फुटेको डिम्ब नलीको ट्युब काटेर चिकित्सकीय विधि अपनाई रक्तश्राव हुने बाटो बन्द गरिदिए। सो नलीमा करिब आठ हप्ताको भ्रूण थियो। मानव आकारको रूपमा नभएकाले भ्रूण निकालेर फालियो।

चिकित्सकको करिब एक घण्टाको मिहिनेतमा ती महिलाको शल्यक्रिया सफल भयो। मृत्युको मुखमा पुगेकी महिलाको ज्यान बाँच्यो। केही दिनपछि ती महिलालाई पोष्ट अपरेटिभ र सामान्य वार्ड हुँदै डिस्चार्ज गरियो। अस्पतालबाट डिस्चार्ज भएर घर फर्किरहँदा ज्यान बचाइदिने चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति कृतज्ञ भएर नमस्कार गर्दै ती महिला घर फर्किएको डा. राजनलाई अझै सम्झना छ।

सीमित स्रोत साधनका बाबजुद ती महिलाको ज्यान बचाउन सम्भव भएको प्रति चिकित्सकको टीम खुसी नहुने कुरै भएन। ज्यानै जोखिममा परेकी ती २५ वर्षे महिलालाई बचाएको प्रसङ्ग सम्झँदा अझै डा. राजनलाई आनन्द लाग्छ।

ललितपुरको दुर्गममा जन्म, छात्रवृत्तिमा एमबीबीएस अध्ययन
ललितपुरको दुर्गम क्षेत्र मानिखेलमा २०४२ मा जन्मिएका हुन् राजन। २०४६ तिर परिवार बसाइँ सरेर चापागाउँ झरेपछि उनले स्थानीय कञ्चन माविबाट २०६० मा एसएलसी गरे। त्यसपछि ललितपुरकै कुमारीपाटीस्थित क्यास्पियन भ्याली कलेजबाट प्लस टु गरे।

डाक्टर बन्ने रहर भएकाले राजनले एमबीबीएस अध्ययनका लागि तयारी गरेर छनोट परीक्षा दिए। छात्रवृत्ति कोटामा छनोट भएका उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा २०६३ मा भर्ना भएर एमबीबीएस अध्ययन गर्न थाले। २०६९ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।

एमबीबीएस अध्ययनपछि डा. राजनले करिब तीन वर्ष उपत्यका बाहिरका विभिन्न स्वास्थ्य संस्थामा काम गरे। दोलखाको लामाबगर र गोंगरस्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने कर्मचारी तथा श्रमिक लगायतको स्वास्थ्य परीक्षण तथा औषधि उपचारका लागि उनले जागिर खाए।

२०७२ वैशाखको भूकम्पपछि भने उनी त्यहाँको जागिर छोडेर काठमाडौं आए। करिब दुई महिना आराम गरे। त्यसपछि ‘अष्ट–ज’ नामक संस्थामार्फत डा. राजन ललितपुरकै मानिखेलको स्थानीय तहमा गएर करिब आठ महिना काम गरे।

समग्र रोगको उपचार गर्ने डाक्टर
डा. राजनलाई थप अध्ययन गर्नु छँदै थियो। त्यसैले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा २०७३ मा भर्ना भएर स्नातकोत्तर तहको ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपीइएम)’ विषय अध्ययन गर्न थाले।

२०७६ मा डा. राजनको एमडीजिपीइम अध्ययन पूरा भयो। उनले निकसाइमन्स इन्टिच्युटको आर्थिक सहयोगमा सरकारी छात्रवृति कोटामा एमडीजिपी अध्ययन गरेका हुन्।

त्यो बेला छात्रवृत्ति कोटामा अध्ययन गरेवापत दुई वर्ष अनिवार्य छात्रवृत्ति करारमा काम गर्नुपर्ने नियम लागु भएको थियो। त्यसैले डा. राजनले छात्रवृत्तिमा अध्ययन गरेवापत २१ महिना तेह्रथुम जिल्ला अस्पताल र तीन महिना ताप्लेजुङ जिल्ला अस्पतालमा गरी दुई वर्ष छात्रवृत्ति करारमा काम गरे।

छात्रवृत्ति करारको काम सकिएपछि डा. राजनले करिब एक वर्ष धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर दुई स्थित ‘मलेखु शिक्षण अस्पताल’मा काम गरे। त्यसपछि रामेछापको तामाकोशी अस्पतालमा गएर उनले करिब एक वर्ष काम गरे।

रामेछापपछि पुनः धादिङको ‘मलेखु शिक्षण अस्पताल’मा नै फर्केर काम गर्न थाले। डेढ वर्षयता निरन्तर डा. राजन ‘मलेखु शिक्षण अस्पताल’मा नै ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपीइएम)’ विशेषज्ञका रूपमा कार्यरत छन्।

ललितपुरको दुर्गम ठाउँमा जन्मिएका डा. राजनलाई सानैदेखि नेपालका विभिन्न कुनाकाप्चामा गएर काम गर्ने इच्छा थियो। त्यसैले देशको कुनाकाप्चामा गएर बिरामीको उपचार गर्ने विषयको खोजीको शिलशिलामा उनको अध्ययनको रोजाइमा ‘एमडीजिपीइएम’ परेको रहेछ।

सबै किसिमको रोगको उपचार गर्ने चिकित्सकीय विषय हो, एमडीजिपीइएम। यो विषय अध्ययन गरेका विशेषज्ञ चिकित्सकले सबै किसिमका स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि उपचार गर्नुपर्ने हुन्छ।

बिरामीको उपचारका लागि थप विशेषज्ञ चिकित्सकको आवश्यकता परेको खण्डमा आवश्यकता अनुसार विशेषज्ञ चिकित्सककहाँ बिरामी रेफर गर्नु एमडीजिपीइएम अध्ययन गरेका चिकित्सकको काम हो। उनी यो विषयका चिकित्सकको संख्या बढाएको खण्डमा देशका दुर्गम क्षेत्रमा बसोबास गर्ने व्यक्तिको उपचारमा सहजता हुने बताउँछन्।

त्यसैले एमडीजिपीइएम चिकित्सकको संख्या बढाउनुपर्नेमा उनको जोड छ। यो समग्र रोगको उपचार गर्ने चिकित्सकीय विधा भएकाले जिल्लाका कुना काप्चामा विशेषज्ञ उपचार सेवा पुर्याउन यो विधाका चिकित्सक नै आवश्यक हुने उनको धारणा छ।

डा. राजन ‘जर्नल अफ जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन अफ नेपाल’को प्रधान सम्पादकको भूमिकामा समेत छन्। अध्ययन तथा अनुसन्धान गर्न रुचाउने उनका विभिन्न अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका जर्नलहरूमा प्रकाशित छन्।

कात्तिक ३, २०८१ शनिबार १३:०९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।