गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, २१ महिलासहित ३३ जनाको मृत्यु

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, २१ महिलासहित ३३ जनाको मृत्यु
फाइल तस्बिर

एजेन्सी : गाजाको उत्तरी भाग जबलियामा रहेको शरणार्थी शिविरमा इजरायली आक्रमणमा ३३ जनाको ज्यान गएको छ।

आक्रमणमा २१ महिलाको मृत्यु भएको गाजास्थित हमासका अधिकारीहरूले जानकारी दिएको बीबीसीले जनाएको छ।

यद्यपि इजरायलले जबलियामा भएको यो पछिल्लो हमलाको आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

इजरायली सेनाले विगत केही हप्तादेखि सघन जनसंख्या भएको शिविरमा घेराबन्दी गर्दै आएको थियो। प्रमुख हमास नेता याह्या सिनवार पनि इजरायली आक्रमणमा मारिएका थिए।

योसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो वक्तव्य पनि युद्धविरामको प्रयासलाई लिएर बाहिर आएको छ।

बाइडेनका अनुसार लेबनानमा युद्धविरामको सम्भावना बढी भए पनि गाजामा तत्काल युद्धविरामको सम्भावना देखिएको छैन।

शुक्रबारको इजरायली आक्रमणमा ८५ जनाभन्दा बढी घाइते भएको हमासद्वारा सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

हमासद्वारा सञ्चालित मिडियाले यस पछिल्लो इजरायली हमलामा मारिनेको संख्या ५० पुग्न सक्ने बताएको छ।

कात्तिक २, २०८१ शनिबार १०:०३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।