थकित भएर अन्तर्वार्ता रद्द गरेको ह्यारिसको आरोपपछि ट्रम्पले दिए जवाफ
एजेन्सी : अमेरिकी राष्ट्रपति चुनावको प्रचारप्रसार अन्तिम चरणमा छ।
यसै क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्ना प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको स्वास्थ्यमाथि प्रश्न उठाएकी छन्।
ट्रम्प चुनावी प्रचारबाट थकित भएकाले मिडियामा आउन नसकेको ह्यारिसको आरोप छ।
मिशिगनमा एक र्यालीलाई सम्बोधन गर्दै कमला ह्यारिसले भनिन्, ‘ट्रम्पसँग अमेरिकाका लागि कुनै योजना छैन। हामीले देख्यौँ, उहाँ आफैँमा मात्र केन्द्रित हुनुहुन्छ। उहाँ बहसबाट जोगिँदै हुनुहुन्छ र आफ्नो अन्तर्वार्ता रद्द गरिँदै हुनुहुन्छ।’
ट्रम्पले गत हप्ता तीनवटा मिडिया अन्तर्वार्ता रद्द गरेका थिए। उनले थकानका कारण अन्तर्वार्ता रद्द गरेको उनको दाबी छ।
ह्यारिसले भनिन्, ‘यदि तपाईं चुनाव प्रचार गर्दा थकित हुनुहुन्छ भने यसले प्रश्न उठाउँछ कि तपाई संसारको सबैभन्दा कठिन काम (अमेरिकाको राष्ट्रपति बन्ने) गर्न पनि सक्षम हुनुहुन्छ कि हुनुहुन्न?’
अमेरिकी सञ्चारमाध्यम पोलिटिको एक्सटर्नलको रिपोर्टमा ट्रम्प अभियानका एक सदस्यलाई उद्धृत गर्दै पूर्व अमेरिकी राष्ट्रपतिले थकानका कारण केही अन्तर्वार्ता रद्द गरेको उल्लेख गरिएको थियो।
ह्यारिसको आरोपमा ट्रम्पको जवाफ
कमला ह्यारिसले आफ्नो स्वास्थ्यबारे टिप्पणी गरेपछि डोनाल्ड ट्रम्पले उल्टै ह्यारिससँग चुनावका लागि कुनै शक्ति बाँकी नरहेको आरोप लगाएका छन्।
‘ह्यारिसले मलाई थकानका कारण मिडिया अन्तर्वार्ता रद्द गरेको आरोप लगाइछन्,’ उनले भने, ‘मैले पछिल्ला ४८ दिनदेखि आराम गरेको छैन। ह्यारिसले हारिसकेकी छिन् र उनीभित्र कुनै पनि ऊर्जा बाँकी छैन।’
कात्तिक ३, २०८१ शनिबार ०८:१६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।