आफू पक्राउ परेको तस्बिर राख्दै रविबारे सिके राउतको टिप्पणी- प्रतिशोध र निषेधको राजनीति
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्राउलाई प्रतिशोध र निषेधको संज्ञा दिएका छन्।
शुक्रबार सभापति लामिछाने पक्राउ परेपछि डा. राउतले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस शेयर गर्दै यस्तो टिप्पणी गरेका हुन्।
‘२१ सीट भएको नयाँ/राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राऊलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन’, राउतले लेखेका छन्, ‘यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो।’
उनले रवि यसबाट सफलतापूर्वक निस्कनेमा आफू विश्वस्त रहेको भन्दै राज्यले चाहेको खण्डमा सडकमा हिँडिरहेको निर्दोष मानिसलाई पक्रेर २५-५० दिन अनुसन्धानको नाममा हिरासतमा राखिदिने बताए।
‘पछिल्लो दशकमा सरकारद्वारा ऐनकानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको मान्छे म, दुई दर्जनभन्दा बढी पटक हिरासत/जेल जानु परेको मान्छे म। यहाँको ऐनकानून नै त्यस्तै छ कि राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको जोसुकै, जस्तोसुकै निर्दोषलाई समातेर २५-५० दिन त अनुसन्धानको नाममा त्यस्तै हिरासतमा राखिदिन सक्छ, र अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे तापनि राज्यले कुनै माफी समेत माग्नु पर्दैन’, उनले लेखेका छन्।
सरकारका बस्ने र राज्य चलाउने शीर्ष नेताहरूले पदको दुरुपयोग गर्दै आएको टिप्पणी गर्दै उनले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई तह लगाउन, आफ्नो पार्टीमा जबरजस्ती प्रवेश गराउन, अनुचित आर्थिक वसूली गर्न त्यसको प्रयोग हतियारको रूपमा गर्दै आएको बताए।
कात्तिक ३, २०८१ शनिबार ०७:२९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।