रविलाई विहान तीन बजे पोखरा पुर्‍याइयो, प्रहरी कार्यालय अगाडि स्वर्णिमसहित समर्थककाे नाराबाजी

रविलाई विहान तीन बजे पोखरा पुर्‍याइयो, प्रहरी कार्यालय अगाडि स्वर्णिमसहित समर्थककाे नाराबाजी

पोखरा : सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ।

शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री एवं सांसदसमेत रहेका लामिछानेलाई प्रहरीले शनिबार सडक मार्ग हुँदै विहान तीन बजे पोखरा पुर्याएको हो।

पोखरा ल्याएपछि स्वास्थ्य परीक्षणपश्चात उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय अगाडि उनको पक्षमा नाराबाजी भएको थियो। जसमा पार्टीका उपसभापति स्वर्णिमा वाग्लेसमेत सहभागी थिए।

रविलाई कास्की पुर्याउने क्रममा कुरिनटारमा रहेको सशस्त्र प्रहरीको कार्यालयमा बेलुकाको खाना खुवाइएको थियो।

उनका पार्टीका कार्यकर्ता तथा उनी समर्थकले अवरोध समेत गरेका थिए। खासगरी धादिङको गल्छी र चितवनको मुग्लिनमा उनकाे पक्षमा नाराबाजी भएको थियो।

मुग्लिनमा नाराबाजीमा उत्रिएका उनका समर्थकहरूले अन्य पार्टीका नेताको तस्बिर अंकित प्लाकार्ड देखाउँनै उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरेका थिए।

सहकारी रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिले लामिछानेसहित अन्य व्यक्तिहरूको संलग्नता देखिएको भन्दै कारबाहीको सिफारिस गरेसँगै पक्राउ परेर पोखरा ल्याइएका उनलाई आइतबार मात्र अदालतमा पेश गरिने छ।

सम्बन्धित समाचार

कात्तिक ३, २०८१ शनिबार ०७:२०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।