रवि लामिछानेको हिरासत यात्रा : कुरिनटारको सशस्त्रको कार्यालयमा खाना, चोक-चोकमा समर्थकको नाराबाजी

रवि लामिछानेको हिरासत यात्रा : कुरिनटारको सशस्त्रको कार्यालयमा खाना, चोक-चोकमा समर्थकको नाराबाजी

काठमाडौँ : शुर्यदर्शन सहकारीमा रहेको बचतकर्ताको रकम अपचलनमा संलग्न रहेको आरोपमा अदालतको स्वीकृति लिएर पक्राउ परेका रवि लामिछानेलाई पोखरा लैजानेक्रममा कुरिनटारमा रहेको सशस्त्र प्रहरीको कार्यालयमा बेलुकाको खाना खुवाइयो।

सहकारी ठगीमा अनुसन्धानका लागि पक्राउ परेका उनीमाथि ठगी र सङ्गठित अपराधमा पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतबाट अनुमति पाएपछि काठमाडौँमा पक्राउ गरेर स्थलमार्गबाट पोखरा लगिएको हो।

रास्वपा पार्टी कार्यालयमा भेला भएका रास्वपाका नेता तथा कार्यकर्ताको भिड।पोखरा लैजानेक्रममा कुरिनटारमा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन शिक्षालयमा उनलाई बेलुकाको खाना खुवाइएको थियो।

काठमाडौँबाट सुरक्षा घेरासहित लैजानेक्रममा ठाउँ-ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरू रविको पक्राउको विरोध गर्न भेला भएका थिए।

मुख्यगरी मुग्लिनको चोकमा रास्वपाका समर्थकहरू हातमा प्लेकार्डसहित रविको पक्षमा नाराबाजीका लागि भेला भएका थिए। उनीहरूले सहकारी ठगीमा संलग्न अन्य दलका नेतालाई उन्मुक्ति दिएर राजनीतिक पूर्वाग्रहको आधारमा रविलाई पक्राउ गरेको भन्दै उनको पक्षमा नाराबाजी गर्दै उनलाई राखिएको गाडी पोखरा लैजान अवरोधको प्रयास गरेका थिए।

रवि पक्राउको विरोधमा मुग्लिनमा भएको विरोध।प्रहरीले रविलाई लिएर गएको गाडीमाथिको अवरोध हटाएर उनीहरूलाई पोखरा जान बाटो क्लियर गरेको थियो।

प्रतिपक्षीको बैठकले रोक्न सकेन पक्राउ

रविलाई पक्राउको तयारी गरिएको सूचनाको आधारमा शुक्रवारै प्रतिपक्षी दलका नेताहरूको बैठक बसेको थियो। बैठकमा रवि पार्टीका आधा दर्जन नेताहरूसहित सहभागी भएर सरकारको तयारीको प्रतिरोध गर्न आग्रह गरेका थिए। तर बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहेक अन्यले रविको पक्राउको तयारीबारे चासो राखेनन्। उनले भने सरकारले एक-दुई दिनमै रविलाई पक्राउको तयारी गरेको सूचना पाएको जानकारी दिएका थिए।

प्रतिपक्षी दलहरूको बैठक सकिएपछि रवि सिधै पार्टी कार्यालय गएर बसेका थिए। सरकारी पक्षले रविलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीसँग अनुमति मागेको जानकारी पाएपछि रविले पक्राउ परेको अवस्थामा सामाजिक सञ्जालमा राख्न भिडियो सन्देश रेकर्ड गराएका थिए।

रवि पक्राउ पर्नु अगाडि बसेको प्रतिपक्षी दलका नेताहरुको बैठक।त्यहीबिचमा उता जिल्ला अदालत कास्कीले रवि सहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दियो। त्यो सूचना काठमाडौँ आए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले काठमाडौँमा रहेका पार्टीका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा उपस्थित हुन र अन्य जिल्लामा रहेका पार्टी नेता तथा कार्यकर्ताहरूलाई अलर्ट रहन निर्देशन जारी गरेको थियो।

रास्वपाको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरू भेला भएकै बेलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अन्य प्रहरीसहित जिल्ला प्रहरी कार्यालय कास्कीले पठाएको पक्राउको पत्र बोकेर गएको थियो।

प्रारम्भमा रास्वपाका कार्यकर्ताहरूले प्रहरीलाई अवरोध गर्ने प्रयास गरे पनि केही नेताहरूले प्रहरीलाई अवरोध नगर्न आग्रह गरेका थिए। त्यसपछि ब्युरोबाट एसपी होबिन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले कार्यालय भित्र गएर रविलाई उनकै कार्यकक्षमा पक्राउ पुर्जी दिए जसमा शुर्यदर्शन सहकारीको रकम अपचलनमा अनुसन्धानमा लागि पक्राउ अनुमति दिएको र ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि हिरासतमा लिने उल्लेख थियो।

रविले पार्टी कार्यालयभित्रै प्रहरीको पक्राउ पुर्जी बुझे। त्यो बेलामा साढे ६ बजेको थियो। पक्राउ पुर्जी बुझेको पत्रमा हस्ताक्षर गरेपछि उनले 'यो हातले आज यहाँ हस्ताक्षर गरेको छ। यही हातले भ्रष्टाचारीलाई थुन्ने कागजमा हस्ताक्षर गर्ने छ' भने। केहीले ताली बजाए।

श्रीमती निकितालाई 'तिमीले दुख पायौँ। मैले केही गलत काम गरेको छैन। थाहा छ नि' भन्दै उनी कार्यालयको परिसरमा आएर सरकारले प्रतिशोधको आधारमा पक्राउ गरेको भन्दै कार्यकर्ताहरूलाई सम्बोधन गरेपछि प्रहरीले उनलाई गाडीमा राखेर कार्यालयबाट बाहिर निकालेर स्थलमार्गबाट पोखरा लैजान हिँडेको थियो।

प्रतिपक्षी दल मौनरास्वपा विरोध प्रदर्शनको तयारीमा

रवि पक्राउ पर्नु अगाडि विपक्षी दलका नेताहरू बैठक बसे पनि उनको पक्राउकोबारेमा भने कुनै दलले पनि आफ्नो धारणा सार्वजनिक गरेको छैन।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी विपक्षमा छन्। माओवादीका नेता शक्ति बस्नेतले शुक्रवार बैठक सकिएपछि कानुनी प्रक्रिया अनुसार अनुसन्धानमा सघाउन रवि तयार रहेको तर राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिए विरोध गरिने बताएका थिए। तर पक्राउपछि उनको दल पनि मौन छ।

पक्राउ अगाडि पार्टी कार्यालयमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै।रास्वपाले भने विज्ञप्ति जारी गरेर प्रारम्भकै दाबी उल्लेख गर्दै सहकारी ठगीको अध्ययन गर्न गठन भएको समितिले रवि संलग्न नभएको उल्लेख गर्दागर्दै राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरेको दाबी गरेको छ।

रवि पक्राउको विरोधमा रास्वपाले शनिवार काठमाडौँ र पोखरामा एकैसाथ विरोध प्रदर्शनको तयारी गरेको छ। पोखरामा ११ बजे र काठमाडौँको माइतीघरमा दिउस तीन बजे पक्राउको विरोधमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। 

सम्बन्धित समाचार

कात्तिक २, २०८१ शनिबार ०१:३५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।