रविबारे रास्वपाको पुरानै अडान, निर्दोष हुँदा पनि पक्राउ गरियो

रविबारे रास्वपाको पुरानै अडान, निर्दोष हुँदा पनि पक्राउ गरियो

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई संसदीय छानबिन समितिले कुनै संलग्नता नभएको भन्दाभन्दै पक्राउ गरेको दाबी गर्दै भर्त्सना गरेको छ।

सहकारी ठगी र सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले शुक्रवार रविलाई पक्राउ गरेको थियो।

कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रवार बेलुका जारी गरेको विज्ञप्तिमा 'संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको' दाबी गरिएको छ।

रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको बताउँदै कानुनका छिद्रमा टेकेर रास्वपा र रविमाथि साँधिने राजनीतिक प्रतिशोध स्वीकार्य नभएको उल्लेख गरेको छ।

गोर्खा मिडिया प्रालीका तत्कालीन प्रबन्ध निर्देशक रहेका रविलाई सहकारीबाट गोर्खा मिडियामा आएको बचतबारे पक्राउ गरेको हो। संसदीय समितिले त्यसमा प्रालिको नेतृत्वमा रहेका पदाधिकारीमाथि छानबिन गर्न सिफारिस गरेको थियो।

तर रास्वपाले 'बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको' दाबी गरेको छ।

रविको पक्राउलाई गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडीसँग जोडेर 'अर्बौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेको' विज्ञप्तिमा उल्लेख छ।

'हामी डराएका छैनौँ, तर्सिएका हैनौँ। अब परिवर्तनको लडाई थप बुलन्द भएको छ' विज्ञप्तिमा भनिएको छ।

कात्तिक १, २०८१ शुक्रबार २३:०६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।