बाढी, पहिरो डुबान प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

बाढी, पहिरो डुबान प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्। 

उनले विपद्पछिको क्षतिको विस्तृत मूल्याङ्कन गरेर पुनः निर्माणमा अपुग हुने रकम जुटाउन दातृ निकाय वा विदेशी सरकारको सहभागितामा सम्मेलन गर्न समेत निर्देशन दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रवार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकको समापन गर्दै ओलीले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न तथा बिजुली, स्वास्थ्य, खानेपानीलगायत अवरुद्ध सेवा १५ दिनभित्र खुलाउन निर्देशन दिए। 

उनले किसानहरूको बालीको नोक्सानी भएको स्थितिमा उनीहरूलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिँदै भत्किएका कुलोहरूको मर्मत जेठ १५ भित्र गरी सक्न निर्देशन दिएका थिए।

परिषद्का अध्यक्ष ओलीले नेपाल भूकम्पीय, पहिरो र जलवायु परिवर्तनजन्य विपद्को जोखिममा रहेकाले त्यसको पूर्व तयारी तथा सुरक्षित एकीकृत बस्ती विकासको नीतिगत तर्जुमा गर्न आग्रह गर्दै अन्यत्र आवास नभई जोखिमयुक्त स्थानमा बसेकाहरूलाई बस्ती स्थानान्तरण गर्न र अन्यत्र घर भई जोखिमयुक्त स्थानमा रहेकाहरूलाई त्यहाँबाट हटाउनुपर्ने बताए।

उनले देश र जनताको सुरक्षाका लागि पारदर्शीरुपमा पहिरोको जोखिम भएका स्थानमा वन क्षेत्र विस्तार गर्न र कतिपय वन क्षेत्रमा सुरक्षित बस्ती विकासको योजना अघि बढाउन सकिने भनाइ राखे।

कात्तिक १, २०८१ शुक्रबार २०:४१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।