रविलाई दोस्रो हिरासत यात्रा पनि फाप्ला त ?

रविलाई दोस्रो हिरासत यात्रा पनि फाप्ला त ?
पहिलो तस्बिर : आत्महत्या दुरुत्साहनमा पक्राउ परेपछि चितवनको हिरासतमा रहेका रवि, दोस्रो तस्बिर : प्रहरीले पक्राउ गर्नु अगाडि कार्यकर्तालाई सम्बोधन गर्दै रवि।

काठमाडौँ : आफ्नै सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्याका लागि बाध्य पारेको (दुरुत्साहन) आरोपमा २०७६ मा पानीपोखरीबाट पक्राउ गरेर चितवन लैजाने घटना रवि लामिछानेका लागि राजनीतिमा प्रवेशको प्रारम्भ विन्दु भयो।

न्युज २४ मा कार्यक्रम सञ्चालक रहेका रवि पक्राउको विरोधमा चितवनमा निरन्तर विरोध प्रदर्शन भए। ११ दिनको अनुसन्धानपछि जिल्ला अदालत चितवनमा उनको मुद्दा बुझाएपछि रविसहित युवराज कँडेलसमेत धरौटीमा रिहा भए। अर्की अभियुक्त अस्मिता कार्की साधारण तारेखमा रिहा भइन्।

धरौटीमा छोड्दा अदालतले ‘अदालतमा विचाराधीन आफ्नो मुद्दालाई प्रभावित पार्ने गरी लामिछानेले कार्यक्रम उत्पादन गर्न नपाउने’ लगायतका सर्त राखेको थियो।

चितवन प्रहरीको हिरासतमा रहँदा देखिएको समर्थनले उनलाई राजनीतिमा लाग्न प्रेरित मात्रै गरेन उनी चितवन २ बाटै प्रतिनिधि सभाको उम्मेदवार बने र निर्वाचन र उनको नागरिकताको कारण भएको उप-निर्वाचन दुवै पटक निर्वाचित भए। यो बिचमा उनी दुई पटक नै उपप्रधान तथा गृहमन्त्री बनेका थिए।

न्युज२४ छाडेर ग्यालेक्सी टेलिभिजन खोल्दै त्यसको प्रबन्ध निर्देशक भएका रवि अन्तमा त्यही टेलिभिजनको माउ संस्था गोर्खा मिडिया प्रालिमा अवैध रूपमा आएको सहकारीको रकम र त्यसको अपचलनको मुद्दामा शुक्रवार पक्राउ परे।

शालिकराम आत्महत्या दुरुत्साहनको मुद्दामा उनीसहित तीनै जनाले जिल्ला अदालत चितवनबाट सफाइ पाए। सरकारी पक्ष पुनरावेदनमा गएन।

टेलिभिजनको कार्यक्रम सञ्चालक हुँदै राजनीतिमा आएर प्रतिनिधि सभाको चौथो ठुलो दलको सभापति भएका उनी अन्तमा टेलिभिजन सञ्चालनको क्रममा सहकारीबाट आएको रकमको कारण ठगी र सङ्गठित अपराधको अभियोगमा पक्राउ परे।

हिजो आत्महत्या दुरुत्साहनको अनुसन्धानका लागि काठमाडौँमा पक्राउ गरेर चितवन पुर्याए जस्तै उनलाई प्रहरीले शुक्रवारै काठमाडौँबाट कास्की पुर्याउँदै छ।

चितवनमा देखिएको समर्थन देखेर उनले निकटहरूसँग राजनीतिमा प्रवेश गर्नेबारे छलफल नगरेका हैनन्। दल दर्ता गर्ने कि पुरानो दलमा जाने भन्ने विषयमा निर्णयमा पुग्न सकेनन्। अन्तमा उनी राजनीतिमा नजाने निर्णयमा पुगे र कार्यक्रमबाटै आफू राजनीतिमा नजाने घोषणा पनि गरे।

तर २०७९ को स्थानीय तहको निर्वाचनमा बालेन शाहसहितका स्वतन्त्र उम्मेदवारले जितेको देखेपछि उनको मनमा लुकेको राजनीतिक मोह पुन ब्यूँतियो। प्रारम्भमा नेपाली काङ्ग्रेसबाट राजनीति गर्न छलफलमा संलग्न भए। अन्तमा उनी नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा हाम फाले।

आत्महत्या दुरुत्साहनमा प्रहरी हिरासतमा पर्नु रविका लागि फाप्यो। चितवन २ बाट उनी दुई पटक निर्वाचित मात्रै भएनन्, उनको नेतृत्वमा रहेको पार्टी प्रतिनिधि सभाको चोथौँ ठुलो दल समेत बन्यो। उनको दल दुई पटक सरकारमा गयो। उनी उपप्रधानमन्त्री बन्न सफल भए। 

यो बिचमा उनीमाथि श्रम कानुन उलंघन गरेको, अध्यागमन कानुन उलंघन गरेको अनि सञ्चार कानुन उलंघन गरेको आरोप नलागेको हैन। तर कुनै आरोप पनि अनुसन्धानको दायरामा आएन र उनले उन्मुक्ति पाए।

राजनीतिमा आएपछि निष्क्रिय नागरिकता प्रयोग गरेको आरोप लाग्यो। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता निष्क्रिय रहेको ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीको  पदसँगै पार्टी सभापति र सांसदको पद समेत गएको थियो। तर निष्क्रिय नागरिकता प्रयोग गरेर उनले गरेका गतिविधिबारे प्रहरीबाट अनुसन्धान भएन। यसमा पनि जोगिए।

दोहोरो राहदानीको गम्भीर आरोपमा जोगिन उनले राजनीतिक शक्तिको प्रयोग गरेर मुद्दा नै नचल्ने निर्णय गराए। 

सहकारी ठगीमा पनि जोगिन उनले अनेक प्रयास नगरेका हैनन्। गृहमन्त्री भएपछि प्रहरीमा परेको पूरक जाहेरीलाई कार्यान्वयन तहमा जानबाट रोक्न सफल भएका उनले सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति गठन रोक्न सकेनन्। 

अन्तमा संसदबाट गठन भएको त्यही संसदीय समितिको प्रतिवेदनको आधारमा शुक्रवार जिल्ला अदालत कास्कीबाट पक्राउ आदेश जारी भयो र त्यही आदेशको आधारमा उनी काठमाडौँमा पक्राउ परे।

दोस्रो पटकको पक्राउलाई रविले राजनीतिक पूर्वाग्रहको आरोप लगाइरहेका छन्। उनले सरकारको पूर्वाग्रही कदमको प्रतिरोध गर्न आग्रह समेत गरेका छन्। यो पनि फाप्ला त?

हिजो टेलिभिजन कार्यक्रमकै भरमा कमाएको प्रशंसकहरू उनको पक्षमा उभिए। उनीहरूले चितवनमा निरन्तर प्रदर्शन गरेर दबाब दिइरहे। आज उनी टेलिभिजनको कार्यक्रम सञ्चालकबाट पार्टीको सभापति भइसकेका छन्। हिजो सामान्य समर्थकहरू थिए। आज उनीसँग पार्टी कार्यकर्ताहरू छन्।

हिजो उनका समर्थकहरूले जसरी प्रतिरोध गरे त्यसरी आज उनका पार्टीका कार्यकर्ताहरूले प्रतिरोध गर्न सक्लान्?  साना बचतकर्ताहरूको रकम अपचलन भएको घटनामा गोर्खा मिडियाको प्रबन्ध निर्देशकको हैसियतमा अपचलनमा संलग्न देखिएका रविको पक्षमा उनका पार्टी कार्यकर्ताहरूले माहौल बनाउन सक्लान्? के दोस्रो हिरासत यात्रा पनि फाप्ला रविलाई?

सम्बन्धित समाचार

कात्तिक १, २०८१ शुक्रबार १९:५४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।