लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अदालतको अनुमति, रवि भन्छन् ‘सरकार मर्‍यो’

लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अदालतको अनुमति, रवि भन्छन् ‘सरकार मर्‍यो’

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

प्रहरीले पेस गरेको प्रारम्भिक विवरणको आधारमा शुक्रवार अदालतले मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजिम पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो।

अदालतको अनुमतिपछि लामिछानेसहित १४ जनालाई पक्राउ गरेर सहकारीको रकम अपचलनको आरोपमा हिरासतमा राखेर अनुसन्धान गर्न कानुनी बाटो खुलेको छ।

अदालतले रास्वपाका सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँगै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाललाई समेत पक्राउ गर्न अनुमति दिएको हो।

शुर्यदर्शन सहकारीमा रहेको रकम अपचलनमा जोडिएका देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठलाई समेत पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

अदालतबाट पक्राउका लागि अनुमति आएपछि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् 'अहिलेलाई,सरकार मर्यो हामीलाई जुठो पर्यो। तर  मलाई  न्यायलयप्रती आशा छ।'

कात्तिक १, २०८१ शुक्रबार १८:४६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।