अब महिला स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक सवारीमा भाडा नलाग्ने, निःशुल्क गर्न यातायात व्यवसायी सहमत

अब महिला स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक सवारीमा भाडा नलाग्ने, निःशुल्क गर्न यातायात व्यवसायी सहमत

काठमाडौँ : महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। नेपालभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्। मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यस सम्बन्धी समझदारी भयो।

विपद् प्रभावित काभ्रेको रोशी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सेवाको कदर स्वरूप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गरेका थिए।

केही समयअघि मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरूलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए।

त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासङ्घ सहमत भएपछि शुक्रवार मन्त्रालयमा यस सम्बन्धी समझदारी भएको हो।

कात्तिक १५ बाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाए।

मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सहयोग गर्न के गर्न सकिन्छ भनेर आफूहरू चिन्तित रहेको बताए।

महासङ्घका अध्यक्ष स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सुविधा उपलब्ध गराउने घोषणा गरे।

महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले निकै महत्त्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासङ्घप्रति आभार प्रकट गरिन्।

मन्त्रालयसँग महासङ्घले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ।

यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासङ्घले उल्लेख गरेको छ।

कात्तिक १, २०८१ शुक्रबार १६:४६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।