पहिलो टेस्टमा लज्जास्पद हारपछि पाकिस्तानको उत्कृष्ट पुनरागमन, इङ्ल्यान्ड १५२ रनले पराजित

पहिलो टेस्टमा लज्जास्पद हारपछि पाकिस्तानको उत्कृष्ट पुनरागमन, इङ्ल्यान्ड १५२ रनले पराजित

एजेन्सी : मुल्तानमा भएको दोस्रो टेष्टमा पाकिस्तानले उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई १५२ रनले पराजित गरेको छ।

घरेलु मैदानमा ११ टेस्टमा हार बेहोरेपछि पाकिस्तानले पहिलो जित निकालेको छ। योसँगै पाकिस्तानले सिरिजमा १–१ को बराबरी गरेको छ।

यति मात्र नभएर सन् १९८७ पछि टेस्ट म्याचमा दुई पाकिस्तानी स्पिन बलरले एउटै खेलमा पाँच–पाँच विकेट लिएको यो पहिलो पटक हो।

दोस्रो टेस्टमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

आयोजक टोलीले पहिलो इनिङ्समा कमरान गुलामको ११८ रन र साम अयुबको ७७ रनको योगदानमा ३६६ रन बनाएको थियो।

पहिलो इनिङ्समा ब्याटिङमा आएको इङ्ल्यान्डको टोली २९१ रनमा अलआउट भयो। उसका लागि बेन डकेटले शतक प्रहार गर्दै ११४ रनको इनिङ खेले पनि अन्य कुनै ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्।

पाकिस्तानका लागि साजिद खानले सर्वाधिक ७ विकेट लिए। आफ्नो दोस्रो इनिङ्समा ७५ रनको अग्रता लिएर ब्याटिङमा आएको पाकिस्तानी टोलीले आगा सलमानको अर्धशतकको मद्दतले २२१ रन बनाएको थियो।

दोस्रो इनिङ्समा इंग्ल्याण्डलाई जितका लागि २९६ रन चाहिएको थियो। तर, उत्कृष्ट बलिङका कारण पाकिस्तानले इंग्लिस टोलीलाई १४४ रनमा अलआउट गर्दै दोस्रो टेस्ट १५२ रनले जित्यो।

टेस्ट सिरिजको पहिलो खेलमा पाकिस्तान पाहुना टोलीसँग एक इनिङ्स र ४७ रनले हारेको थियो। दोस्रो टेस्टमा पाकिस्तानी टोली बाबर आजम र शाहिन शाह अफ्रिदी बिना खेलेको थियो।

कात्तिक १, २०८१ शुक्रबार १३:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।