रविको ‘सुराकी’ बने प्रचण्ड, सुनाए पक्राउबारे सरकारको तयारी

रविको ‘सुराकी’ बने प्रचण्ड, सुनाए पक्राउबारे सरकारको तयारी

काठमाडौं : बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) कानून  अनुसारको संयन्त्र निर्माणबारे भएको छलफलमा प्रसङ्गवश राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउबारे छलफल भयो।

टिआरसीबारे छलफल गर्न सत्ताधारी दलले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डसहितको बैठक टिआरसीको कानून अनुसार कार्यान्वयनको पक्षबारे छलफल भएको थियो।

बैठक रवि पक्राउबारे छलफल गर्न नराखिए पनि प्रचण्डले नै रविको प्रसङ्ग प्रवेश गराएका थिए। उनले बैठकमा रविको पक्राउबारे जिज्ञासा राखेपछि प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयका गएर कार्यान्वयन शुरू भइसकेको भन्दै कानूनी रूपमा छानबिन हुनु सामान्य भएको जवाफ दिएका थिए।

त्यसैको आधारमा प्रचण्डले शुक्रबार राखेको प्रतिपक्षी दलको बैठकमा सत्ताधारी दलका नेताहरूसँग भएको छलफलका आधारमा ‘रवि २-४ दिनमा पक्राउ पर्न सक्ने’ सूचना दिए।

बैठक सरकारको गतिविधि लगायतका विषयमा छलफल गर्न बोलाएको भनिए पनि रविको पक्राउको विषयमा बढी केन्द्रित रहेको बैठकमा आधा दर्जन नेता रास्वपाकै हुनुले नै पुष्टि गर्छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र लोसपाका नेता सहभागी बैठकमा रास्वपाका सभापती रवि उपाभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, बिराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनालसहित सहभागी भएका थिए।

बैठकको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। माओवादीबाट शक्ती बस्नेत सहभागी थिए। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपाका महन्थ ठाकुर, राप्रपाका राजेन्द्र लिङदेन अनि प्रभु साह सहभागी थिए।

बैठकपछि माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बैठकमा रवि लामिछानेलाई पक्राउ गर्ने सरकारी तयारीबारे पनि छलफल भएको बताए। कानूनी रूपमा हुने पक्राउमा कुनै आपत्ति नहुने तर कहिँ कतै राजनीतिक पूर्वाग्रह देखिए प्रतिपक्ष दल एक रहेको उनले दाबी गरेका थिए।

बस्नेतले नै बिहीबार टिआरसी सम्बन्धी बैठकमा आफ्नो पार्टी अध्यक्ष प्रचण्डले रविको पक्राउबारे जिज्ञासा राख्दै राजनीतिक पूर्वाग्रहको आधारमा काम नहोस् भनेर गृहमन्त्री रमेश लेखकलाई समेत भनेको दाबी गरेका थिए।

छवि जोशीको पक्राउसँगै दशैं अगाडि नै रविलाई समेत पक्राउ गर्ने तयारी भए पनि रवि पार्टी कार्यालयमा बसेर कार्यकर्ता जम्मा पारेपछि प्रहरीले तत्काल रणनीति बदलेको थियो। छवि जुन आधारमा पक्राउ परेका हुन् रविको आधार त्यो भन्दा बलियो देखिन्छ।

आर्थिक कारोबारमा छवि संलग्न देखिएका छैनन् तर रवि संलग्न देखिएकाले विभिन्न सहकारीबाट गोर्खा मिडियामा अवैध रूपमा गएको रकम र त्यसको दुरुपयोगमा प्रबन्ध निर्देशकको रूपमा रवि संलग्न रहेको संसदीय समितिको प्रतिवेदनमै उल्लेख छ।

सोही आधारमा रविलाई छानबिन गर्न पक्राउ गर्ने सरकारको तयारी छ। रास्वपा यसबाट जोगिने उपायको खोजिमा देखिन्छ भने माओवादी केन्द्र यस विषयलाई प्रतिपक्षी दलको अजेण्डा बनाएर सरकारको विपक्षमा आन्दोलन थाल्ने रणनीतिमा देखिन्छ।

प्रचण्ड प्रधानमन्त्रीहुँदा उनले रवि सहकारी ठगीमा संलग्न नरहेको भन्दै उनको बचाउमै उत्रिएका थिए। उनले संसद्मै रवि निर्दोष रहेको दाबी समेत गरे। तर प्रतिपक्षी भएपछि भने प्रहरीसँग बुझ्दा उनी संलग्न रहेको प्रमाण छैन भनेकाले त्यही अनुसार संसद्मा बोलेको दाबी गरेका थिए।

अहिले भने प्रचण्ड सरकारसँगको छलफलमा रविबारे उनीहरूको मनस्थिति बुझ्ने अनि रविलाई जानकारी दिने भूमिकामा प्रचण्ड सक्रिय देखिए।

उनी रास्वपासहितको गठबन्धन बनाएर सरकारविरुद्ध आन्दोलन चर्काउने रणनीतिमा देखिएका छन्। उता सहकारी ठगीबारे अध्ययन गर्न गठित संसदीय समितिले सहकारीबाट प्रत्यक्ष रूपमा ऋण लिएको नदेखिएको र तर गोर्खा मिडियामा सहकारीहरूबाट गैर कानुनी रूपमा आएको रकम खर्चमा संलग्न देखिएको उल्लेख गर्दै प्रतिवेदन बुझाएको थियो। उनी प्रबन्ध निर्देशकको हैसियतमा रहेकाले त्यसबेला गोर्खा मिडियाको नाममा भएको अवैध गतिविधिको जिम्मेवार हुनुपर्ने समितिको ठहर देखिन्छ।

तर उनीसहित रास्वपाका नेताहरूले यसलाई क्लिनचिट पाएको दाबी गर्दै पक्राउ परे त्यो राजनीतिक प्रतिशोध हुने तर्क गर्दै आएका छन्। शुक्रवार बसेको प्रतिपक्षी दलहरूको बैठकमा समेत रविले सोही आशय राखेका थिए।

कात्तिक १, २०८१ शुक्रबार १३:०४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।