जुवा खेलिरहेका २१ जना पक्राउ, खालबाट तीन लाख ७६ हजार रूपैयाँ बरामद

जुवा खेलिरहेका २१ जना पक्राउ, खालबाट तीन लाख ७६ हजार रूपैयाँ बरामद
सांकेतिक तस्बिर

काठमाडौं : सुनसरी र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट तीन लाख ७६ हजार ९० रुपैयाँ बरामद गरिएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ।

सुनसरीको धरान उपमहानगरपालिका-१ बस्ने मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ५१ वर्षीय कुमार बहादुर बिश्वकर्मा समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ६ सय ८० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।

यस्तै कास्कीको पोखरा महानगरपालिका-१७ ड्यामसाइडस्थित ५३ वर्षीय योगेनद्र शेरचनको लेते थकाली भान्छा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ नयाँबजार बस्ने ६८ वर्षीय विनोद शेरचन समेत आठ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६९ हजार ६० रूपैयाँ र १४ बुक तास सहित पक्राउ गरेको हो।

त्यसैगरी पोखरा महानगरपालिका-१७ ड्यामसाइड बस्ने ४६ वर्षीय प्रताप गुरूङको फाइनल स्कोर स्पोर्ट्स बारमा जुवातास खेलिरहेको अवस्थामा प्रताप समेत तीन जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३ सय ५० रूपैयाँ र २ सय २४ पत्ति तास सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कात्तिक १, २०८१ शुक्रबार १२:४२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।