प्रतिपक्षी दलको बैठकमा प्रचण्डको ब्रिफिङ- ‘२-४ दिनमा रवि समातिन सक्छन्’

प्रतिपक्षी दलको बैठकमा प्रचण्डको ब्रिफिङ- ‘२-४ दिनमा रवि समातिन सक्छन्’

काठमाडौं : शुक्रबार बसेको प्रतिपक्षी दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने २-४ दिनमा पक्राउ पर्नसक्ने बताएका छन्।

बिहीबारको सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दलका नेताबीचको बैठकको छलफलबारे जानकारी दिँदै उनले सरकार रविलाई सहकारी ठगीमा पक्राउको तयारीमा रहेको जानकारी गराएका थिए।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र लोसपाका नेता सहभागी बैठकमा रास्वपाका सभापति रवि सहित उपाभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, बिराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनालसहित सहभागी भएका थिए।

बैठकको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। माओवादीबाट शक्ति बस्नेत सहभागी थिए। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपाका महन्थ ठाकुर, राप्रपाका राजेन्द्र लिङदेन अनि प्रभु साह सहभागी थिए।

बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशबारे पनि छलफल भएको थियो। 

साना दल विशेष गरेर एकीकृत समाजवादी पार्टी विभाजन गर्ने रणनीति अनुसार प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश ल्याउने तयारीमा रहेको भन्दै बैठकले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गर्यो।

महाधिवेशनसँगै एकीकृत समाजवादीमा बढेको विवादले केही सांसद र नेताहरू असन्तुष्ट छन्। पार्टीको सार्वजनिक रुपमै आलोचना गरिरहेका छन्।

ध्यानाकर्षण पत्र बुझाउन बैठकले माओवादी केन्द्रका सांसद शक्ति बस्नेत, रास्वपाका शिशिर खनाल र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे रहेको कार्यदल गठन गरेको छ।

बैठकले कात्तिक ५ मा ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेको बैठकपछि सांसद खनालले जानकारी दिए।

कात्तिक १, २०८१ शुक्रबार १२:१२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।