अमेरिकी नागरिककाे हत्या प्रयासमा भारतीय सरकारी कर्मचारीविरुद्ध मुद्दा दायर

अमेरिकी नागरिककाे हत्या प्रयासमा भारतीय सरकारी कर्मचारीविरुद्ध मुद्दा दायर

एजेन्सी : अमेरिकी न्याय विभागले एक भारतीय सरकारी कर्मचारीमाथि हत्याको षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

यो सम्पूर्ण घटना अमेरिकाको न्यूयोर्क शहरमा एक अमेरिकी नागरिकको हत्याको षडयन्त्रसँग सम्बन्धित भएको बीबीसीले जनाएको छ।

अमेरिकी न्याय विभागले ३९ वर्षीय भारतीय सरकारी कर्मचारी विकास यादव विरुद्ध ‘भाडाका लागि हत्याको षड्यन्त्र’ रचेको र ‘मनी लान्ड्रिङ’ को आरोप पनि लगाएको छ।

अमेरिकी न्याय विभागले एक विज्ञप्तिमा विकास यादवलाई अमानतको नामले पनि चिनिएको जनाएको छ।

विकास यादवसँगको हत्या षड्यन्त्रमा संलग्न रहेको आरोप लागेका अर्का ५३ वर्षीय निखिल गुप्तालाई यसअघि नै अमेरिका सुपुर्दगी गरिएको विभागले जनाएको छ।

अमेरिकाले विकास यादव फरार रहेको बताएको छ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक बी. गारल्याण्डले भनेका छन्, ‘अमेरिकी न्याय विभागले यस मामिलामा संलग्न जो कोहीलाई पनि जवाफदेही बनाउन सक्दो प्रयास गर्नेछ। गत वर्ष हामीले भारतीय कर्मचारी विकास यादव र उनका सहयोगी निखिल गुप्ताले अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्रलाई असफल पार्यौँ।’

अमेरिकी संघीय अनुसन्धान एजेन्सी एफबीआईले भनेको छ, ‘भारतीय सरकारी कर्मचारीले आफ्नो साथीसँग मिलेर अमेरिकी नागरिकको हत्याको षड्यन्त्र रचिएको थियो। कुनै पनि अमेरिकी नागरिक विरुद्ध हिंसाको प्रयास एफबीआईलाई सैह्य छैन।’
 

कात्तिक १, २०८१ शुक्रबार ०९:३७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।