अमेरिकामाथि नेपालकाे १७ रनको जित, दीपेन्द्रले लिए तीन विकेट

अमेरिकामाथि नेपालकाे १७ रनको जित, दीपेन्द्रले लिए तीन विकेट

काठमाडौं : अमेरिकाविरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ।

१६५ रनको लक्ष्य पछ्याएको अमेरिकालाई सात विकेटको क्षतिमा १४७ रनमा रोक्दै १७ रनले विजयी भएको हो। योसँगै तीन खेलको सिरिजमा नेपाल १-० ले अगाडि भएको छ।

अमेरिकाका लागि सायान जहान्गिर नटआउट रहँदै सर्वाधिक ६० रन बनाउँदा एन्ड्रिज गोइजले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा गुल्सन झा, करण केसी र रिजन ढकालले समान एक–एक विकेट लिए।

त्यसअघि अमेरिकाको टेक्ससस्थित ग्रान्ड पेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २८ तथा अनिल शाह र आशिफ शेखले समान २७-२७ रन बनाए।

त्यसबाहेक गुल्सन झा ११, कुशल भुर्तेल १०, सोमपाल कामीले दुई रन बनाउँदा आरिफ शेख, करण केसी र सागर ढकालले एक रन पनि जोड्न सकेनन्।

अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदीप सिंह र हरमित सिंहले समान दुई-दुई विकेट लिँदा अली खान र नोसथस केन्जीले समान एक-एक विकेट लिए।

सुरुवात र मध्य क्रममा राम्रो खेलेको नेपालले अन्तिम आठ बलमा पाँच विकेट गुमाएको थियो।

खेलको प्लेयर अफ दि म्याच दीपेन्द्रसिंह ऐरी भए।

दुई टोलीबीचको अर्को दुई खेल आइतबार र सोमबार विहान पौने ६ बजे हुनेछ।

कात्तिक १, २०८१ शुक्रबार ०९:३०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।