तिहारको लक्ष्मीपूजामा नेपाली फिल्म नजुध्ने भए, ‘एक्टर: टेक वन’ ले रिलिज मिति सारेर माघमा पूर्यायो

तिहारको लक्ष्मीपूजामा नेपाली फिल्म नजुध्ने भए, ‘एक्टर: टेक वन’ ले रिलिज मिति सारेर माघमा पूर्यायो

काठमाडौँ : दशैँको फूलपातीमा तीन नेपाली फिल्म एकै दिन रिलिज भएजस्तै तिहारको लक्ष्मीपूजाको दिन दुई फिल्म पूर्णबहादुरको सारगीं र ‘एक्टर: टेक वन’ रिलिज हुँदै थिए। दुवै फिल्मले लक्ष्मी पूजाको दिन अर्थात् कार्तिक १५ मा रिलिज गर्ने भनेर प्रचार समेत सुरु गरिसकेका थिए।

बिहीबार पूर्णबहादुरको सारङ्गीको ट्रेलर रिलिज हुनु अगाडि एक्कासि ‘एक्टर: टेक वन’ को टिमले सूचना निकाल्दै फिल्मको प्रदर्शन मिति सरेको जानकारी दियो।

कार्तिक १५ बाट प्रदर्शन मिति सारेर तीन महिनापछि माघ १६ मा पुगेको फिल्मको टिमले विविध कारणले फिल्मको प्रदर्शन मिति सरेको बताएका छन्। त्यसमा प्राविधिक कारण र स्वास्थ्य जटिलता उल्लेख छ।

पूर्णबहादुरको सारङ्गीमा विजय बराल, प्रकाश सपुत लगायतका कलाकारहरूको अभिनय रहेको छ। उता राजन भुसालले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहितका कलाकार छन्।

पूर्णबहादुरको सारङ्गीको तुलनामा राम्रो पब्लिक अपिलिंग भएको कलाकार टोली एक्टरमा छन्। तर अभिनयका हिसाबमा भने पूर्णबहादुरको सारङ्गीका कलाकारहरू माझिएका छन्।

असोज ३०, २०८१ बिहीबार २२:३०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।