साफ महिला फुटबल : भारतले ५-२ गोलले हरायो पाकिस्तानलाई

साफ महिला फुटबल : भारतले ५-२ गोलले हरायो पाकिस्तानलाई

काठमाडौं : राजधानीमा आजदेखि सुरू भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। 
    
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले हरायो। भारतले खेलको सुरूआतदेखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो। 

खेलको पाँचौँ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। त्यसपछि मनिषा कल्यानले खेलको १७औँ मिनेटमा गोल थप्दै भारतको अग्रता दोब्बर बनाइन्। 
    
खेलको पहिलो हाफको ३५औँ मिनेटमा बाला देवीले भारतका लागि गोल गरिन्। भारतकी डाङ्मेई ग्रेसले खेलको ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् र भारतलाई ४-० को अवस्थामा पुर्याइन्।  
    
खेलको पहिलो हाफको अतिरिक्त समयमा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमार्फत गोल गरिन्। भारतकी असलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो। खेलको पहिलो हाफसम्म ४-१ गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल गर्यो। 

खेलको दोस्रो हाफको सुरुआतमै कायल मारी सिद्दिकीले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काउने सङ्केत देखाएकी थिइन्। तर, खेलको ७८औँ मिनेटमा भारतले पाँचौँ गोल थप्यो। भारतकी ज्योती चौहानले गोल गर्दै भारतलाई ५-२ को अग्रता दिलाइन्। 

जीतसँगै भारतले प्रतियोगितामा तीन अंक जोडेको छ। प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश तथा समूह ‘बी’मा नेपाल, भुटान, श्रीलङ्का र माल्दिभ्स रहेका छन्। 

शुक्रबार दिउँसो १ः३० बजे पहिलो खेल श्रीलङ्का र माल्दिभ्सबीच तथा दोस्रो खेल साँझ ५ः३० बजे नेपाल र भुटानबीच हुनेछ। 

कात्तिक १, २०८१ बिहीबार २१:०६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।