छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं : चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्रामसहित मकवानपुरको थाहा नगरपालिका-६ बस्ने २२ वर्षीय सरोज अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७३३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

थप अनुसन्धानको क्रममा थाहा नगरपालिका-९ बस्ने २९ वर्षीय भुपेन्द्र बस्नेत उक्त पदार्थ रिसिभ गर्न आउने खुल्न आएपछि उनलाई काठमाडौं चन्द्रागिरि नगरपालिका-१ दह चोकबाट प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-१५ सुर्मीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय मनिराम राना र २४ वर्षीय हुकुम सिंह राना रहेका छन्। 

प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

भोजपुरको अरूण गाउँपालिका-६ जरायोटारस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय १० मिलिग्रामसहित भोजपुर नगरपालिका-९ बस्ने २५ वर्षीय अमुल राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरीले दमकबाट भोजपुरतर्फ आउँदै गरेको बा.३ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज ३०, २०८१ बिहीबार २०:२५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।