साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलको पहिलो हाफमै भारतले पाकिस्तानविरूद्ध ४ गोल गर्यो

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलको पहिलो हाफमै भारतले पाकिस्तानविरूद्ध ४ गोल गर्यो

काठमाडौं : साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरूद्ध ४ गोल गरेको छ। दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ। 

खेलको सुरूवातदेखि आक्रामक खेलेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो। गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो। 

पहिलो हाफको अन्त्यतिर पेनाल्टीमा गोल फर्काउँदै पाकिस्तानले खाता खोलेको हो।.

खेलको पाँचौ मिनेटमै भारतले खेलमा अग्रता लियो। ग्रेस दाङमेइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफले बचाउन सकिनन्। बायाँ विंगबाट रन्जना चानुले दिएको क्रसलाई ग्रेसले नियन्त्रणमा लिँदै सहजै प्रहार गरेकी थिइन्।

१७ औं मिनेटमा मनिषाले अग्रता दोब्बर पारिन्। मिडफिल्डबाट लगातार पास खेल्दै पाकिस्तानको डिफेन्स बिट गरेर बाला देवीले दिएको अन्तिम पासलाई मनिषाले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरिन्।

२७ औं मिनेटमा ग्रेसको हेडरलाई पाकिस्तानकी गोलरक्षक निशाले डाइभ दिँदै बचाउ गरिन्। लगत्तै प्रियांका देवी नाओरेमको लामो दुरीको प्रहारमा पनि निशाले सहजै बचाइन्। ३६ औं मिनेटमा भारतका लागि बाला देवीले गोल थपिन्। 

४३ औं मिनेटमा भारतले अर्को गोल थप्यो। इन्ज्युरी समयको पहिलो मिनेटमा पाकिस्तानले पेनाल्टीको अवसर पायो। सुहा हिरानीले पेनाल्टीलाई टप कर्नरमा गोल गर्दै स्कोर ४-१ को स्थितिमा ल्याएकी हुन्।

असोज ३०, २०८१ बिहीबार १८:५२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।