स्वदेशी बजारमा गहुँको माग बढेपछि भारतबाट २ लाख मेट्रिक टन आयात गरिँदै

स्वदेशी बजारमा गहुँको माग बढेपछि भारतबाट २ लाख मेट्रिक टन आयात गरिँदै

काठमाडौं : नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ। 

बजारमा गहुँको अभाव हुने देखिएपछि केही मात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल चालेको हो। 

अहिलेलाई भारत सरकारसँग गहुँको आयातका बिषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। 

मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादक लगायतका व्यवसायीहरूबाट गहुँको आपूर्ति गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालेको मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए। 

उनका अनुसार गहुँ आयातका लागि गरिएको आग्रहमा भारत सरकार सकारात्मक छ। 

मैदा व्यवसायीहरूले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन्। व्यवसायीहरूलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयको आग्रह छ। 

बजारमा कृतिम अभाव श्रृजना गरी मूल्यबृद्धि गरेको पाइएमा अनुगमन गरी कारवाही गरिने मन्त्रालयले जनाएको छ।

बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भएतापनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक संघ सहमत भएको संघका उपाध्यक्ष दिनेश अग्रवालले बताए। 

व्यवसायीले नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेको भन्दै सरकारलाई सहज गरिदिन उनको आग्रह छ।  

असोज ३०, २०८१ बिहीबार १८:२३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।