बाँके प्रहरीले सुल्झायो टाउकोहीन शवको रहस्य, सिसिटिभीको फुटेजले पूर्यायो हत्या आरोपीसम्म

बाँके प्रहरीले सुल्झायो टाउकोहीन शवको रहस्य, सिसिटिभीको फुटेजले पूर्यायो हत्या आरोपीसम्म

बाँके : साइकलले छोएको विषयमा भएको विवादमा हत्या भएको निष्कर्षसहित प्रहरीले कोहलपुरमा फेला पारेको टाउको बिनाको शवको घटनामा संलग्न रहेको आरोपमा अनिल परियारलाई पक्राउ गरेको छ।

कोहलपुरमा टाउको नभएको शव भेटिएको घटनाको अनुसन्धानकोक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरको प्रहरीले रोल्पाको माडी गाउँपालिका–६ का २४ वर्षका परियारलाई पक्राउ गरेको हो।  

प्रहरीका अनुसार परियार बलात्कार मुद्दामा दोषी ठहर भएर २ वर्ष ९ महिना जेल जीवन बिताएर असोज १३ मा कारागारमुक्त भएका थिए।

असोज २७ मा कोहलपुर नगरपालिका–८ स्थित सरस्वती चोक जाने बाटोमा टाउको काटेको अवस्थामा शव फेला परेको थियो। टाउको भने थिएन। अनुसन्धानमा टाउको नभएको शव कोहलपुरको नहरटोलका सामान्य मजदुर चन्द्रबहादुर कामीको भएको खुलेको थियो।

अनुसन्धान गर्दै जाँदा प्रहरीले परियार बसेको घरको सेप्टिक ट्याङ्कीमा मृतकको टाउको र घटनामा प्रयोग भएको हतियारसहितका थप सामग्री फेला परेपछि उनलाई बिहीबार पक्राउ गरेको हो।

सिसिटिभीले दिएको थियो क्लु

घटनाको अनुसन्धानकोक्रममा प्रहरीले नजिकै रहेको क्लोज सर्किट टेलिभिजनमा मृतक र हत्याका आरोपीको दृश्य भेटेको थियो।

फुटेजमा आरोपी परियार साइकलमा देखिएका थिए। हुलियाको आधारमा प्रहरीले घटनास्थलबाट ५ सय मिटर पूर्व उत्तरमा रहेको एक घरमा पुग्यो। आरोपी सोही घरमा बस्ने गरेको खुल्यो। घरको सेप्टी ट्याङ्कीमा टाउको लुकाएको शङ्कामा प्रहरीले ढक्कन खोलेर हेर्दा टाउको, मृतकको कपडाको टुक्रा अनि खुर्पा फेला पारेको थियो। प्रारम्भिक सोधपुछमा साइकल चलाएर आएको बेलामा मृतक सडकमा सुतेको अवस्थामा साइकलले सामान्य छुँदा विवाद गरेपछि हत्या गरेको सकारेको प्रहरीको दाबी छ। 

असोज ३०, २०८१ बिहीबार १७:५८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।