'पूर्णबहादुरको सारङ्गी'को ट्रेलरमा देखियो सुन्दर फिल्मको सङ्केत

'पूर्णबहादुरको सारङ्गी'को ट्रेलरमा देखियो सुन्दर फिल्मको सङ्केत

काठमाडौँ : सहायक पात्रका रूपमा अभिनय गरे पनि पुरै फिल्म बोक्न सक्ने कलाकार हुन् विजय बराल। छोटो भूमिका पाए पनि चट्ट दर्शकको मनमा बस्न लायक अभिनय गर्नु उनको विशेषता हो। सहायक पात्रका रूपमा उनको अभिनयले सफल भएका फिल्म टन्न छन्।

मुलपात्र कै भूमिकाले फिल्म सफल बनाउने जिम्मेवारी बोकेका छन् उनले पूर्णबहादुरको सारङ्गीबाट। यो फिल्ममा उनीसँगै मुकुन ढकाल, भोलाराज सापकोटासँगै प्रकाश सपूत, देशभक्त खनाल अनि अञ्जना बराइली लगायतको अभिनय छ। बिहीबार सार्वजनिक भएको फिल्मको ट्रेलरले फिल्म गन्दर्भ समुदायको सामाजिक तथा आर्थिक अवस्थालाई केन्द्रमा राखेर निर्माण भएको देखिन्छ।

सङ्गीतलाई आफ्नो कर्म अनि सारङ्गीलाई पवित्र साधन मान्ने यो जातीबाट केही उम्दा कलाकारको जन्म नभएको हैन, तर आर्थिक रूपमा अझै यी जाती कमजोर छन्। हिजो गाइने हुनु मानको काम थियो, आज त्यो मान पनि हराउँदै गएको छ।

यो बेलामा यही समुदायमा केन्द्रित भएर फिल्म बन्नु सकारात्मक हो। फिल्मको ट्रेलरमा कलाकारहरूको जुन गेटअप देखिएको छ त्यसले यो फिल्म वर्तमान समयको कथा हैन कि भन्ने देखाउँछ।

हजुरबाबाट बाबुमा सरेको सारङ्गीको जिम्मेवारी छोराले धान्छ या धान्दैन मूल कथा यसैको वरिपरि देखिन्छ। छोराले सारङ्गीको जिम्मेवारी लियोस् भन्ने चाहने अनि पढेर आफ्नो छोरा सारङ्गीसँगै आउने आर्थिक जर्जरताबाट मुक्त होस् भन्ने चाहने अर्को पुस्ताबीचको सोचको भिन्नता समेत देखिन्छ ट्रेलरमा। यो फिल्मको सबैभन्दा बलियो पक्ष उम्दा अभिनय गर्ने कलाकारहरूको जमघट हो।

सरोज पौडेलले आफ्नो कथा अनि निर्देशनमा अभिनयमा उम्दा कलाकारलाई एकै चलचित्रमा समेटेका छन्। एक अति राम्रो जनावरको सृजना गर्न सबै जनावरका राम्रा राम्रा अङ्ग लिँदा उँट बनेको आहान चल्तीमै छ।

आश गरौँ, निर्देशक पौडेलले राम्रा कलाकारको चयनमा मात्र केन्द्रित नभई पात्र र चरित्रचित्रण अनुसारकै कलाकार छनौटमा केन्द्रित भएर यो फिल्मको निर्देशन गरेका छन्। ट्रेलरले यो एक सुन्दर फिल्म बनेको सङ्केत भने गरेको छ।

कात्तिक १, २०८१ बिहीबार १६:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।