धवलागिरिमा अस्ताएका रूसी आरोहीले इन्स्टाग्राममा लेखेका थिए 'धवलागिरि चुम्न अनुकूल मौसमको पर्खाइमा छौं’

धवलागिरिमा अस्ताएका रूसी आरोहीले इन्स्टाग्राममा लेखेका थिए 'धवलागिरि चुम्न अनुकूल मौसमको पर्खाइमा छौं’

काठमाडौं : ‘चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे। दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ’, रूसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ मा सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धवलागिरि चढ्दै गरेको तस्विरसहित आरोहणसम्बन्धी जानकारी गराएका थिए।

संसारको सातौं आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका १४ जना रूसी पर्वतारोहीको नेतृत्वकर्ता डसिकाको यो नै अन्तिम सन्देश बन्न पुग्यो। यही असोज २१ अर्थात् अक्टोबर ६ तारिखका दिनदेखि आरोही एकाएक सम्पर्कविहीन भएपछि सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका आफन्त तथा शुभेच्छुकहरू निराश बने।

धवलागिरिको चुचुरो चुम्न एक सय ६७ मिटरमात्र बाँकी रहेको अवस्थामा असोज २१ को दिउँसो ११ बजे आधार शिविरमा रहेको टोलीलाई फर्कन लागेको जानकारी गराएका डसिकासहित पाँचजना आरोही सम्पर्कविहीन भएको दुई दिनपछि असोज २३ गते सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिए।

अतिरिक्त अक्सिजनको प्रयोगबिना धवलागिरि आरोहण गर्न आएका डसिका, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोइ अन्ततः धवलागिरिमै अस्ताए।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा खसेर ज्यान गुमाएका पाँचै जनाको शव दश दिनपछि बुधबार निकालिएको छ। 

एयर अल्टिच्युडको हेलिकप्टरबाट रसीमा झुण्डिएर घटनास्थलमा पुगेका सेभेन समिट ट्रेक्सका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर इटाली आधार शिविरमा ल्याएको थियो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठले आधार शिविरबाट शवलाई काठमाण्डौंस्थित शिक्षण अस्पतालमा लगिएको बताए। 

‘मौसमको खराबी र प्रतिकूल भूगोलका कारण घटनास्थलबाट शव सङ्कलन गरेर ल्याउन ढिलाइ भएको हो। यसअघि दैनिकजसो शव ल्याउन गएका हेलिकप्टर रित्तै फर्किएका थिए। उद्धारकर्ताहरूको अथक प्रयासपछि हेलिकप्टरबाट रसीमा झुन्डिएर शव ल्याउनुभयो’, उनले भने।

आइएम ट्रेकिङ एण्ड एक्सिपडिसनमार्फत १४ जना रूसी पुरूष पर्वतारोहीहरू धवलागिरि हिमाल आरोहणका लागि गएका थिए। त्यस टोलीका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्लीले भने धवलागिरिको सफल आरोहण गरेका आरोहण गराउने कम्पनी एक्सपिडिसनले जनाएको छ।

कम्पनीका अनुसार छ जना पर्वतारोही बीचमै आरोहण रद्द गरेर फर्किएका थिए। आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएको थियो। चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनले आरोहण रद्द गरेका जनाइएको छ।  

कात्तिक १, २०८१ बिहीबार १५:२६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।