अमेरिकाका आन्द्रेस गौस पोखरामा अनुबन्धित

अमेरिकाका आन्द्रेस गौस पोखरामा अनुबन्धित

काठमाडौं : पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अमेरिकाका ३० वर्षीय विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ।

उनी एनपिएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन्। यसअघि अन्य टिमले मुख्य प्रशिक्षक अनुबन्ध गर्दै आएका छन्।

१५ मंसिरदेखि ६ पुससम्म हुने प्रतियोगिताका लागि पोखरामा अनुबन्धित भएका दायाँ हाते ब्याटर गौसले उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए।

उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाउँदा तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन्। सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै उनले अमेरिकाको प्रतिनिधित्व गरेका थिए।

पोखरा एभन्जर्सका  प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन्। पहिलो पटक नेपालमा लिग खेल्न लागेका गौसले उत्साहित रहेको बताए। 

यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन्।

पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन्।

कात्तिक १, २०८१ बिहीबार १३:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।