बुद्ध एयरको ‘माउन्टेन फ्लाइट’मा प्राविधिक समस्या
काठमाडौं : बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा गएको ‘9N-AJS’ कलसाइन विमानमा प्राविधिक समस्या देखिएको छ।
विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गराएर विमानको जाँच गरिरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।
‘माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ’, उनले भने।
‘आज विहान माउन्टेन फ्लाइट, उडान नम्बर १०० विमानको ‘9N-AJS’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौं सुरक्षित अवतरण गराइएको छ, उक्त विमानलाई बुद्ध एयरका प्राविधिक टीमले चेकजाँच गरिरहेका छन्’, बुद्ध एयरद्वारा जारी सूचनामा भनिएको छ।
बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन्। टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ।
काठमाडौंबाट माउन्टेन फ्लाइटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचना अधिकारी कर्णले बताए।
कात्तिक १, २०८१ बिहीबार १३:००:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।