गौशाला धर्मशालाको व्यवस्थापन काठमाडौं महानगरपालिकालाई दिने निर्णय तत्काल कार्यान्वयन नगर्न मन्त्री पाण्डेको निर्देशन

गौशाला धर्मशालाको व्यवस्थापन काठमाडौं महानगरपालिकालाई दिने निर्णय तत्काल कार्यान्वयन नगर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन्।

विवाद बढ्दै गएपछि मन्त्रीले हस्तक्षेप गर्दै धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन्।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले बुधबार ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिए।

यसैबीच उनले गौशाला धर्मशाला विवादमा कोषको निर्णयमाथि हस्तक्षेप गर्दै मन्त्री बद्री बद्रीप्रसाद पाण्डेले आइतबार बिहान ९ बजेका लागि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक बैठक बोलाएका छन्।

मन्त्रालयका शाखा अधिकृत मित्रदेव लम्सालको हस्ताक्षरमा कोषलाई पठाइएको पत्रमा गौशाला धर्मशालाको व्यवस्थापन काठमाडौं महानगरपालिकालाई दिने निर्णय कार्यान्वयन अर्को बैठकबाट निक्यौल नभएसम्म स्थगन गर्न निर्देशन समेत दिइएको छ।

‘असोज २० गते बसेको बैठकको निर्णय नम्बर २ (गौशाला धर्मशाला व्यवस्थापनबारे) को कार्यान्वयन गर्ने सम्बन्धमा त्यहाँबाट भए गरेका कार्यहरूले आराध्यदेव भगवान् पशुपतिनाथको पवित्र क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न भएको बुझिन आएकोले परिषद् बैठकबाट भएको उक्त निर्णय कार्यान्वयनको सन्दर्भमा त्यहाँबाट गरिएका कार्यहरू परिषद्को अर्को बैठकबाट निर्क्यौल नभएसम्म स्थगन गर्न गराउनुहुन र त्यहाँबाट भए गरेका कार्यहरूको विषयमा छलफल गर्न मिति २०८१ कार्तिक ४ गते आइतबार बिहान ९ बजे पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक यस मन्त्रालयको बैठक कक्षमा बस्ने गरी बोलाउनुहुन पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ११ को उपदफा ११.१ बमोजिम परिषद्का अध्यक्ष एवं माननीय मन्त्रीज्यूबाट निर्देशन भएको व्यहोरा जानकारी एवं आवश्यक कार्यार्थ अनुरोध छ’, कोषलाई पठाइएको पत्रमा भनिएको छ।

कोषको निर्णयअनुसार धर्मशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिने सात बुँदे समझदारी भएपनि मारवाडी सेवा समितिले विरोध गर्दै आएको थियो।

असोज ३०, २०८१ बिहीबार १०:५२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।