साफ च्याम्पियनसिप खेल्ने टोलीलाई युनिलिभरको ट्राभल किट्स

साफ च्याम्पियनसिप खेल्ने टोलीलाई युनिलिभरको ट्राभल किट्स

काठमाडौं : साफ च्याम्पियनसिपको सहभागी नेपाली महिला टोलीलाई युनिलिभर नेपालले ट्राभल किट्स प्रदान गरेको छ। युनिलिभर नेपालले गत वर्षदेखि महिला टोलीलाई प्रायोजन गर्दै आएको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्स बुधवार आयोजित कार्यक्रममा  युनिलिभर नेपालको कन्ट्री एचआर हेड सानिस्ता भाटिया, मार्केटिङ हेड सौरभ कारन्जितलगायतले टोलीका खेलाडीलाई ट्राभल किट्स र युनिलिभरको उत्पादन हस्तान्तरण गरेका थिए।

युनिलिभर नेपाल मार्केटिङ हेड कारन्जितले महिला टोलीमा सफलता प्राप्त गर्ने सम्भावना रहेको उल्लेख गर्दै साफका लागि शुभकामना दिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले भविष्यमा पनि युनिलिभरको साथ रहने विश्वास व्यक्त गरे । उनले नेपाल यसपटक उपाधि घरमै राख्ने आफूहरु आशावादी रहेको बताए ।

अध्यक्ष नेम्वाङले साफ च्याम्पियनसिपको गेट कलेक्सनको २० प्रतिशत महिला टोलीको खेलाडीलाई दिने घोषणा गरे । ८० लाख रुपैयाँमा एन्फाले माउन्टेन एभरेष्ट स्पोर्टस एन्ड इभेन्टस प्रालिलाई टिकटिङ जिम्मेवारी दिनेको सम्झौता गरिसकेकोले टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको छ।

नेपालसहित दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। पाकिस्तान र भारतबीच उद्घाटन खेल हुनेछ । त्यो समूहमा अर्को टोली बंगालादेश रहेको छ।

साफको  समूह बीमा आयोजक नेपाल सहित माल्दिभ्स, भुटान र श्रीलंका छन् । नेपालले शुक्रवार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ। नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिप आयोजना गर्दैछ।

असोज ३०, २०८१ बिहीबार ०९:०६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।