करेन्ट चाउचाउका लागि अकबरे खुर्सानी फलाउँदै जनक ‘हेडसर’
बुटवल : पाल्पाको रिब्दीकोट गाउँपालिका-७ स्थित प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक आचार्यको विहान र साँझ खुर्सानी बारीमा बित्छ।
विहान-साँझ व्यावसायिक कृषिमा रमाउने उनी दिउँसो शिक्षण पेशा गर्छन्। विद्यालयको प्रध्यानाध्यापक आचार्य अहिले गाउँमा विद्यालयको मात्र नभएर ‘अकबरे खुर्सानी फलाउने हेडसर’ भएका छन्।
२० वर्षदेखि अध्यापन गराउँदै आएका उनले बिहान साँझको समय भने खेतबारीका लागि निकाले पनि दिउँसो उनलाई श्रीमती संजिता ज्ञवालीले सघाउँछिन्।
सात वर्षदेखि गाउँमै कुखुरापालन, सुन्तला र गोलभेडा खेती गर्दै आएका आचार्य जोडी पछिल्लो चार वर्षदेखि अकबरे खुर्सानी खेतीमा जमेर लागेको छ।
कसरी थालियो खुर्सानी खेती?
अन्य जातको खुर्सानीको तुलनामा बढी मूल्यमा बिक्री हुने र बजारीकरणका लागि पनि सहज भएपछि व्यावसायिक अकबरे खुर्सानी खेती आर्कषित भएका हुन् आचार्य। खुर्सानीको बिउ किन्न बुटवल झरे पनि उनले पाएनन्।
पूर्वमा अकबरेको राम्रो खेती भएको थाहा पाएपछि उनी बिउ लिन र खुर्सानी खेतीबारे जानकारी लिन ईलाम र भोजपुर पुगे। त्यहाँबाट ज्ञान लिएपछि पाल्पा फर्किए।
‘बिउ भोजपुरबाट ल्याएपछि मैले त्यही वर्ष ४० लाखको खुर्सानी बिक्री गरे। गाउँमा बाँझो छाडिएको र आफ्नो गरी १ सय २४ रोपनी जग्गामा खुर्सानी खेती गर्न शुरू गरेको हुँ। अहिले सबै राम्रो छ। अहिले मेरै काम देखेर धेरै कृषकहरू खुर्सानी खेतीतर्फ आर्कषित हुनुभएको छ’, उनले भने।
पहिलो वर्ष १२४ रोपनीमा खेती गरेका उनले दोस्रो वर्षदेखि भने यसको क्षेत्रफल घटाए। उनले सबै माटोमा खुर्सानी खेती गर्न नसुहाएका कारण अहिले ५५ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी र बाँकी जमिनमा अन्य कृषि उत्पादन गरिरहेको बताए।
रुपन्देहीको तिलोत्तमा-१५ पत्थरडाँडामा रहेको यशोदा फुड्सले अहिले आचार्यको खुर्सानी खरिद गर्छ। करेन्ट चाउचाउ र यसका अन्य उत्पादनमा प्रयोग गर्नका लागि उद्योगले आचार्यजस्तै धेरै किसानहरूलाई खुर्सानी उत्पादनमा प्रोत्साहित गर्छ।
आचार्य अहिले खुर्सानीको बिउ पनि बिक्री गर्छन्। बियाँ प्रतिकिलो २५ हजार रुपैयाँ र सुकेको खुर्सानी प्रतिकिलो २ हजार ५०० मा बिक्री गर्ने गरेको उनले बताए।
उनले गरेको खुर्सानी खेतीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट केही सहयोग मिलेको छ। सिंचाइको लागि पाइप, प्लाष्टिक मञ्चिङ, मिनिटेलर लगायत यान्त्रिकरणका पाएका छन्। यसले काम गर्न केही सहज भएको उनको भनाइ छ।
आचार्यको पहलमा अहिले पालिकाभरका आठ सय किसानले खुर्सानी खेती गरेका छन्। जसबाट वार्षिक तीन करोड रुपैयाँ गाउँमा भित्रिने गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ। ज्ञान केन्द्रका अनुसार गत वर्ष मात्रै रिब्दीकोट गाउँपालिकाबाट ६५ टन खुर्सानी बिक्री भएको छ।
गाउँ नै अकबरे खुर्सानीमा
अन्य खेती गर्दा जंगली जनावर बाँदर, बनेल, दुम्सी लगायतबाट हैरानी बेहोरेका कृषकहरूले खुर्सानी खेती गर्दा जंगली जनावरबाट छुटकारा पाउनुका साथै आम्दानीमा समेत वृद्धि भएको छ।
जिल्लाको रिब्दीकोट मात्र होइन, रैनादेवी छहरा, माथागढी र बगनासकाली गाउँपालिकाका कृषकहरूले कम्तिमा एक रोपनीदेखि बढीमा १५ रोपनीसम्म अकबरे खुर्सानी खेती गरेका छन्।
गाउँपालिकाका ग्रामीण वडाका सबैजसो घरमा अकबरे खुर्सानी रोपिएको छ। छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकोले यहाँका कृषकहरू अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएका छन्।
पाल्पा रिब्दिकोट गाउँपालिकाको पहिचान नै अकबरे खुर्सानी बनेको छ। रिब्दीकोट गाउँपालिकाका-८ वटै वडामा अकबरे खुर्सानीको व्यावसायिक खेती हुँदै आएको छ।
गाउँपालिका भित्रका ८ वटै वडाका एक हजार २ सय किसानले अकबरे खुर्सानी खेती गर्दै आएका छन्। उनीहरूले अकबरे खुर्सानीबाट कम्तिमा वर्षमा ५० हजार देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
दुई वर्ष अघिसम्म परीक्षणको रूपमा शुरू भएको अकबरे खुर्सानी खेती अहिले प्रत्येक वडाको टोल-टोलमा हुन थालेपछि कृषकको आम्दानी समेत बढेको कृषक सीता थापा बताउँछिन्।
‘खुर्सानी लगाएपछि बादर, बँदेल केहीको डर छैन। मूल्य पनि राम्रो पाउँदा आम्दानी पनि राम्रो भएको छ’, उनी भन्छिन्।
खुर्सानीको उत्पादन र बजारीकरण सहितको उचित मूल्य किसानले घरदैलोबाटै सहज रूपमा पाउन थालेपछि खुर्सानी खेतीमा कृषकको थप आर्कषण समेत बढेको छ। किसानको उत्पादन किसानले नै खरिद गरि छिमेकी जिल्ला रुपन्देहीसम्म निर्यात हुन थालेपछि सहज भएको छ।
बाँदरको हैरानीपछि शुरू भएको अकबरे खुर्सानी खेतीले यहाँका कृषकहरूलाई आत्मनिर्भर मात्र बनाएको छैन, रिब्दीकोट गाउँपालिकामा अकबरे खुर्सानी बिक्रीबाट करोडौं रकम भित्रिएको छ।
गाउँपालिकाका पूर्व अध्यक्ष नारायण बहादुर जिसीले अकबरे खुर्सानी अभियान चलाएसँगै अहिले गाउँपालिका नै अकबरे खुर्सानीको पकेट क्षेत्रको रूपमा चिनिएको छ।
पालिका पूर्व अध्यक्ष जिसीले कृषकको आयआर्जन वृद्धि गर्न २०७६ सालदेखि आठ वटै वडामा अकबरे खुर्सानी खेती अभियान शुरू गरेका थिए।
किसानहरूको अकबरे खुर्सानीप्रति विश्वास बढ्दै गएपछि रिब्दीकोटको आठवटै वडा वडामा खेती विस्तार हुँदै गएको हो। गत वर्ष चार करोडको खुर्सानी बिक्री भएकोमा यस वर्ष ६ करोडको खुर्सानी बिक्री हुने स्थानीय अगुवा कृषक नारायण बहादुर जिसीले बताए।
किसानहरू, गाउँपालिका र रिब्दिकोट अकबरे खुर्सानी उद्योगबीच त्रिपक्षीय छलफल गरि खुर्सानीको नर्सरी राख्नु अगाडि नै प्रतिकेजी २२० रुपैयाँ समर्थन मूल्य कायम गरेर खुर्सानी खेती गर्दै आएका छन्।
उत्पादन अघि नै मूल्य सुनिश्चित भएपछि किसानहरू उत्साहित हुँदै अकबरे खुर्सानी खेतीमा लागेका हुन्। अहिले किसानले २६० रुपैयाँमा अकबरे खुर्सानी बिक्री गर्दै आएका छन्। संकलन केन्द्रमा रैनादेवी छहरा, बगनासकाली, माथागढी र तानसेन सम्मका किसानहरूले खुर्सानी बिक्री गर्न लैजाने गरेका छन्।
खुर्सानीमा किसानहरू आकर्षित भएसँगै गाउँपालिकाले पनि किसानलाई सहयोग गर्दै आएको छ। गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले अकबरे खुर्सानीको बिउमा अनुदान, कृषको खुर्सानी नर्सरी व्यवस्थापनमा, रोग किरा नियन्त्रण मलखादको व्यवस्थापनमा सहयोग गर्दै आएको बताए।
एक वर्षअघि एक रोपनी जग्गामा अकबरे खुर्सानी खेती शुरू गरेका रिब्दिकोट-२ देउरालीका किसान जीवन रानाले अहिले करीब १२ रोपनी जग्गामा खुर्सानी खेती गर्दै आएका छन्। उनले खुर्सानी खेतबाट मनग्य आम्दानी भएकाले यसलाई अझ विस्तार गर्दै लैजाने योजना बनाएको बताए।
पाल्पा बगनासकाली गाउँपालिकाका कृष्ण भुसालले पनि आफ्नो ५ रोपनी जग्गामा अकबरे खुर्सानीको व्यवसायिक खेती गरेका छन्। बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था मार्फत गाउँमा रहेका २३ घरपरिवारले १ सय रोपनी जग्गामा अकबरे खुर्सानी र एकसय रोपनी जग्गामा कुरिलो खेती लगाएका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय मार्फत बगनासकालीको वडा नं.८ र ९ मा चक्लाबन्दी कार्यक्रम अन्तर्गत खुर्सानी खेती गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय पाल्पाका अनुसार पाल्पामा करिब ८ सय रोपनी जग्गामा अकबरे खुर्सानीको व्यवसायीक खेती गरिएको छ।
माथागढी, बगनासकाली, तिनाउ र रिब्दिकोट गाउँपालिकासँगै तानसेन नगरपालिकामा पनि व्यावसायिक खुर्सानी खेती गरिएको छ। माथागढीमा २ सय रोपनी, बगनासकालीमा १ सय ६०, तिनाउमा २ सय, रिब्दिकोटमा ३ सय र तानसेनमा ४०÷५० रोपनी जग्गामा खुर्सानी खेती गरिएको छ।
कात्तिक १, २०८१ बिहीबार ०८:४७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।