नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा १४० भन्दा बढीको मृत्यु
एजेन्सी : उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ। उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो।
नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोल बहुमूल्य पदार्थ बनेको बेला यो पछिल्लो दुर्घटाना भएको हो।
प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा मङ्गलबार जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको थियो।
प्रहरी प्रवक्ता लवान शिइसु आदमका अनुसार, दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्दै थिए।
राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले एक सय ४० भन्दा बढी मानिस’ लाई सामूहिक चिहानमा गाडिएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताए।
यसअघि प्रहरीले कम्तीमा ९४ जनाको मृत्यु भएको र ५० जना घाइते भएको बताएको थियो।
नाइजेरियाली सांसदहरूले सिनेटमा एक मिनेट मौन धारण गरेका छन्।
बुधबार एक वक्तव्यमा नाइजेरियाका उपराष्ट्रपति काशिम शेट्टिमाले सुरक्षा समीक्षाको आह्वान गरे। सङ्घीय सरकारले प्रभावितहरूलाई सहयोग गर्न स्रोतहरू पठाइरहेको बताए।
इन्धन ट्याङ्कर विस्फोटहरू अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा सामान्य हुन्। यहाँ सडकहरू राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र बासिन्दाहरूले प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन्।
राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ र प्रायः अभाव हुने गर्छ।
गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ।
असोज ३०, २०८१ बुधबार २१:४६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।