विपद्पछिको पुनःस्थापनामा सहयोग गर्न संसद्को विशेष अधिवेशन बोलाउनुपर्ने रास्वपाको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गरेको छ।
रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न संसद्को विशेष अधिवेशन बोलाउन अपिल गरेको हो। विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ।
विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यक पर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीहरूमा निराशा रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, 'आत्मविश्वास र दक्षता स्खलित हुँदा दुईतिहाईको सरकार काम चलाउ जस्तो देखिन्छ। सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरू समेत सत्ता पक्षीय बहुमतको बन्धक भएका छन्।'
प्रतिनिधिसभा नियमावली अनुसार कुल सदस्य (२७५) को एकचौथाई (६९) ले राष्ट्रपति समक्ष विशेष अधिवेशन आह्वानका लागि आवेदन दिन सक्छन्।
असोज ३०, २०८१ बुधबार २१:१९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।