नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितहरूलाई राहत सामाग्री प्रदान

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितहरूलाई राहत सामाग्री प्रदान

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ।

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका ४५ घर परिवार बाढी पीडितलाई चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको हो। प्रति परिवार ३० केजी चामल, दाल र नुन २/२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको बताइएको छ। 

असोज ९ देखिको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएको हुँदा कम्पनीले प्रति घरपरिवार ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरेको छ।

यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण विस्थापित ३० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ। गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय तहको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको बताए।  

असोज २९, २०८१ बुधबार २०:१५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।