आफूले नेपाल प्रहरीलाई जेलमा रहँदादेखि मन्त्री हुँदासम्म नजिकबाट चिनेको प्रसंग सम्झिए प्रधानमन्त्रीले

आफूले नेपाल प्रहरीलाई जेलमा रहँदादेखि मन्त्री हुँदासम्म नजिकबाट चिनेको प्रसंग सम्झिए प्रधानमन्त्रीले

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताकासाथ पारित गरिने बताएका छन्। 

नेपाल प्रहरी द्वारा आयोजित ६९ औँ प्रहरी दिवस, २०८१ को समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने उल्लेख गरे। त्यस विधेयकलाई हाल आवश्यक सुझावकालागि लोकसेवा आयोगमा पठाइएको छ। 

अहिलेको संविधान नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भएको संविधान भएकाले संविधानमा सामयिक संशोधनबाहेक विद्यमान व्यवस्थामा कुनै परिवर्तनको नहुने स्पष्ट गर्दै उनले लोकतान्त्रिक प्रणालीमार्फत् जुनसुकै परिवर्तन ल्याउन सकिने बताए। 

'चुुनावका माध्यमबाट सरकार परिवर्तन गर्न सकिन्छ। अलोकतान्त्रिक विधिबाट कुनै पनि परिवर्तन ल्याउन खोज्नु लोकतान्त्रिक बाटो होइन, प्रधानमन्त्री ओलीले भने, दशैंपछि सरकार तुरून्त परिवर्तन हुन्छ भन्ने हल्लापनि फैलाइयो। कुन दशैं? २०८४ सालको? जबकि हामीले पहिल्यै भनिसकेका छौं, यो सरकार आफैं फेरिन्छ।'

व्यवस्थाविरोधी कुरा गर्नेहरूलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले अगाडि भने, 'कुनाकाप्चाबाट म भन्न चाहन्छु, यो देशलाई विकास र परिवर्तन गर्ने कुरामा इतिहास बनाएका नेपाली कांग्रेस र एमालेसहित लगभग तिहाइको सरकार सञ्चालित छ भन्ने कुरा हेक्का रहोस्। स्वतन्त्रताका नाममा झुठ बोल्नु र बेइमानी गर्नु हुँदैन।'

नेपाल प्रहरीलाई आफूले जेलमा रहँदा, सांसद–मन्त्रीहुँदादेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै उनले यस सङ्गठनलाई अपराध अनुसन्धानमा तालिम र अत्याधुनिक साधनको उपलब्ध गराउने विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गरे। 

देश–विदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले समाजमा प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताए।  

असोज २९, २०८१ बुधबार १९:५७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।