देशमा असमानता, विभेद र उत्पीडन हटाउन अझै धेरै काम गर्न बाँकी छ : सञ्चारमन्त्री

देशमा असमानता, विभेद र उत्पीडन हटाउन अझै धेरै काम गर्न बाँकी छ : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले राज्यले समान अधिकार दिन नसकेको कारण अझै असमानता रहेको बताएका छन्। 

रेडियो नेपालको बुधबार ‘दनुवार’ भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ समारोहमा उनले समाजमा रहेको असमानता, विभेद, उत्पीडन हटाउनको लागि संघीय शासन प्रणालीको आवश्यक रहेको बताए। 

उनले भने, ‘अहिले पनि सबै कुरा हेर्दा विविधता भित्र असमानता, विभेद, उत्पीडनका विषयमा झगडा हुन्छ। राज्यले समान अधिकार दिन नसकेको हुनाले यस्तो भएको हो। यसको व्यवस्थापन गर्नको लागि संघीय शासन प्रणालीको आवश्यकता हुन्छ। यसका लागि विविधताभित्र एकता खोज्नु पर्छ।’

आफ्नो प्रतिनिधि माथि जनताको राम्रो नियन्त्रण कायम होस र लोकतन्त्र राम्रो होस भनेर संघीय प्रणालीमा आएको उनको भनाई छ। 

यस्तै, उनले समय अनुसार नढल्ने हो भने विकास सम्भव नहुने भन्दै रेडियो नेपाललाई वर्तमान समाजमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनुपर्ने बताए। 

उनले सरकार र नीति नियमको स्थिरताको लागि र जनताको समस्या समाधान गर्नको लागि यो सरकार बनेको भन्दै सरकारले आफ्नो काम गर्ने बताए।  

असोज २९, २०८१ बुधबार १८:१२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।