एमालेले भन्यो 'पार्टी कार्यालयको विषयमा आएका टिप्पणीहरू खेदजनक छन्, मिनबहादुर एमाले कार्यकर्ता हुन्'

एमालेले भन्यो 'पार्टी कार्यालयको विषयमा आएका टिप्पणीहरू खेदजनक छन्, मिनबहादुर एमाले कार्यकर्ता हुन्'

काठमाडौं : आफ्नो पार्टीको कार्यालय बनाउन व्यवसायीले जग्गा दान दिएको विषयमा चौतर्फी आलोचना भएपछि एमालेले त्यस्ता टिप्पणीहरू खेदजनक भएको जनाएको छ। 

बुधबार प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू खेदजनक भएको उल्लेख गरेका छन्। 

'जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टिकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्। ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ,' विज्ञप्तिमा उल्लेख छ। 

हालै आएको बाढीबाट ललितपुरस्थित च्यासलमा रहेको पार्टी कार्यालयमा पसेको बाढीले पार्टीका अधिकांश दस्ताबेज अनि सामानहरू नष्ट भएपछि नयाँ कार्यालय बनाउने कस्सिएको एमालेलाई व्यवसायी मिनबहादुर गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान दिएका छन्।

त्यहीँ जग्गामा गत शुक्रबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै उभिएर गुरूङले एमाले कार्यालयको भवनको शिलान्यास गरेयता अहिले यो विषय चर्चामा छन्। 

त्यसपछि एमाले भित्रैबाट नेतृ बिन्दा पाण्डेले यसको विरोध गरेकी छन् भने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतले पनि व्यवसायीले दानमा दिएको जग्गामा पार्टी कार्यालय बनाउनु गलत भनेका छन्। 

तर, एमालेले भने व्यवसायी गुरूङ आफ्नो पार्टीको कार्यकर्ता भएकाले यसको विरोध गर्न खेदजनक भएको जनाएको छ। जारी विज्ञप्तिमा गुरुङ विद्यार्थी कालदेखि नै अनेरास्ववियु र स्ववियुमा सक्रिय रहेको उल्लेख छ। 

'स्मरणरहोस्, निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ्ग सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ,' विज्ञप्तिमा उल्लेख छ।  

असोज २९, २०८१ बुधबार १७:२५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।