४३ वर्षीय पुरूषलाई कुटपिट गरेर हत्या गरेपछि भागेका तीनजना पक्राउ

४३ वर्षीय पुरूषलाई कुटपिट गरेर हत्या गरेपछि भागेका तीनजना पक्राउ

काठमाडौं : सुर्खेत लेकबेँसी गाउँपालिका-२ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा-९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका-५ घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भई हाल बूढानीलकण्ठ-१० कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ तथा इलाम माई नगरपालिका-२ घर भई हाल काठमाडौं गोकर्णेश्वर-६ नयाँबस्ती बस्ने २७ वर्षीया विमला भट्टराई रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

उनका अनुसार मङ्गलबार दिउँसो करिब ३ः२० बजे गोकर्णेश्वर-६ नयाँबस्ती लस लाइट स्कुल नजिक सार्वजनिक स्थानमा पक्राउ परेकाहरूले फौजामगरलाई कुटपिट गरी मारेर फरार रहेको भन्ने खुल्न आएको हुँदा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले अन्दाजी ६ः५० बजेको समयमा उनीहरुलाई तीनै जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।  

असोज २९, २०८१ बुधबार १६:३७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।