बाँचुन्जेल न्याय पाइनन् नामसरादेविले, बिहेको बहानामा आफूलाई १५ हजारमा बेच्ने आरोपी २४ वर्षपछि पक्राउ

बाँचुन्जेल न्याय पाइनन् नामसरादेविले, बिहेको बहानामा आफूलाई १५ हजारमा बेच्ने आरोपी २४ वर्षपछि पक्राउ

सुर्खेत : २०५७ असाेज १ मा सुर्खेतको साविक गुटु गाविस वडा नम्बर ६ (हाल चाैकुने गाउँपालिका-७) का ६१ वर्षीय भक्तबहादुर विष्टले साेही ठाउँकी २१ वर्षीया नामसरादेवि कँडेललाई विवाह गरेर भारतकाे गाेरखपुर पुर्याए। त्यसको केही समयमै भक्तबहादुरले त्यहींस्थित भारतीय नागरिकलाई १५ हजार रूपैयाँ भारूमा नामसरादेवि बेच्ने याेजना बनाए अनि ग्राहक पनि खोजे।  

त्यसैअनुसार ०५७ मंसिर ७ मा नामसरादेविलाई आफूले किनेकाे भन्दै एकजना व्यक्ति लिन आए। तर, नामसरादेवि उनीसँग सहजै जान मानिनन्। उनले ती व्यक्तिसँग आफ्ना श्रीमानलाई बाेलाइदिन हारगुहार गरिन्। नभन्दै ती भारतीयले उनका श्रीमान भक्तबहादुरलाई पनि बोलाइदिए। 

तर, भक्तबहादुरले पनि आफूले बेचेकै हो भन्दै तिनै भारतीयसँग जान भने नामसरादेविलाई। अझ भक्तबहादुरले त यदि जान अटेर गरेपछि ज्यान मार्ने धम्कीसमेत दिए। अनि नामसरादेवि ट्वालेट जाने बहानामा भागिन्। 

त्यसपछि उनी भारतीय प्रहरीकाे शरणमा गइन्। नामसरादेविको कुरा सुनेपछि प्रहरीले ती भक्तबहादुर र ती भारतीय दुवैलाई खोज्यो। तर, उनीहरू त्यहाँबाट फरार भए। 

यता, भारतीय प्रहरीले पीडित नामसरादेविलाई नेपालसम्म उद्दार गरेर पठायाे।

नामसरादेविले नेपाल आएपछि आफूलाई विवाह गरेर गोरखपुर् पुर्याउने भक्तबहादुरको पहिल्यै विवाह भइसकेको र घरमा छाेराछाेरी समेत रहेको थाहा पाइन्। अनि पीडित नामसरादेविले २०५७ मंसिर १३ माजिल्ला प्रहरी कार्यालय सुर्खेतमा आरोपित विरूद्ध जाहेरी दिइन्। मंसिर १६ मा पीडितले जिल्ला अदालत सुर्खेतमासमेत घटनाकाे विस्तृत बयान दिइन्। तर, दुर्भाग्यवश! ११ वर्ष पहिले पीडित नामसरादेविकाे मृत्यु भयो।

यता, २०७६ सालमा नै अदालतले विष्टलाई पक्राउकाे अनुमति दिइसकेकाे थियाे। त्यसयता आरोपित भक्तबहादुर बेलाबखत चाडपर्वमा लुकीछिपी चाैकुने गाउँपालिका -७ गुटुमा आउने जाने गरेकाे प्रहरीले सुइकाे पाएकाे थियाे। साेही अनुरूप उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले आवश्यक याेजना बनाइरहेकाे थियाे। 

नभन्दै हिजो जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय गुटुकाे टाेलीले भक्तबहादुरलाई उनकै घरबाट पक्राउ गर्याे। प्रहरीकाे प्रारम्भिक बयानमासमेत भक्तबहादुरले उक्त घटनाकाे आरोप स्वीकार गरिसकेका छन्।

उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बिरेन्द्र बिर विश्वकर्माले जानकारी दिए।

'२४ वर्षदेखि मानव बेचबिखन मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेका छाैं।  विस्तृत अनुसन्धानबाट सबै विषय खुल्नेछ,' उनले भने,  पीडितकाे मृत्यु भइसकेकाे छ। अनुसन्धान गरेर कानुन अनुसार अगाडि बढाउँछाैं।' 

असोज २९, २०८१ बुधबार १५:३७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।