गुम्बाको आवरणमा बालबालिकाको तस्करी

गुम्बाको आवरणमा बालबालिकाको तस्करी

सुर्खेत : धर्म परिवर्तन भन्नासाथ झट्ट  'क्रिश्चियन' बनाए भन्ने लाग्न सक्छ । त्यो समस्या त छँदै छ, तर पछिल्लो समय कर्णालीमा हेर्ने हो भने यहाँ ‘गुम्बामा सेवा गर्नेहरूको खोजीमा पढाई र विदेश जान पाउने प्रलोभन देखाएर हिन्दु परिवारका बालबालिकालाई बौद्ध धर्म अँगाल्न बाध्य बनाउने क्रम बढेको छ ।

उनीहरूको मनसाय असल भए त अलग कुरा, निम्न आर्थिक अवस्थाका, अझ विशेष दलित परिवारका सदस्यलाई राम्रो पढाइ हुने अनि विदेश पनि जान पाउने भन्दै एजेन्टहरूले बालबालिकाहरूलाई लुम्बिनीदेखि काठमाडौँसम्मका गुम्बामा पुर्याउने अनि काम चैं त्यहाँका आनी र भिक्षुहरूको सेवामा लगाउने गरेका छन् ।

अभिभावकलाई पहिल्यै छोरा-छोरीलाई भिक्षु बनाएर बौद्ध धर्म अनुसारको अनुशासनमा बस्नुपर्ने, गुम्बामा आनी र भिक्षुहरूको सेवा गर्नुपर्ने, भिक्षाटन गर्नुपर्ने खुलाए र सहमति लिए अलग कुरा। उनीहरूले परिवारलाई यस्तो केही खुलाउँदैनन् । केवल सित्तैमा खान-बस्न पाउने अनि राम्रो पढे विदेशसमेत जान पाउने प्रलोभनमा पार्ने गरेको देखिन्छ । यसलाई नेपालको विद्यमान कानुनले बालबालिकाको अवैध ओसारपसार मान्छ । तर बौद्ध धर्मप्रतिको सकारात्मक कोणका आधारमा यसको नियन्त्रणमा न त प्रशासन सक्रिय देखिन्छ न अन्य सरोकारवाला निकाय ।

सुर्खेतका केही घटना पढौँ,

२०७७ पुस २ मा पश्चिम सुर्खेतको चौकुनेकी मुना विकका अभिभावकले राम्रो शिक्षा पाउने आशामा दुई छोरीलाई बुटवल पठाउने निर्णय गरे ।

पुस १० मा १३ वर्षीया मुना र उनकी ११ वर्षीया बहिनी सोनुलाई घरपरिवारले पदम चैते बिहार बुटवल पठाए । चल्तीको शब्दमा बौद्ध बिहारमा पठाए ।

मुना ६ र सोनु ४ कक्षामा गाउँकै सामुदायिक विद्यालयमा पढ्दै थिए ।  त्यस अगाडि बौद्ध बिहारबाट आएका व्यक्तिले निःशुल्क पढाउने र गाउँका अन्य व्यक्तिहरू पनि गएकाले उनीहरूलाई पठाउन हिचकिचाएनन् उनका अभिभावक । राम्रो पढेमा विदेश जाने प्रलोभन समेत थपिएको थियो । नलोभिने कुरै थिएन ।

बौद्ध बिहारबाट आएकाहरूले बौद्ध धर्म मान्नुपर्ने र त्यही परम्परामा बस्नुपर्ने बताए । परिवारले अस्वीकार गरेन ।

तर, उनीहरू त्यहाँको वातावरणमा बस्न सकेनन् । मुना र सोनु पाँच महिनापछि असार ४ मा गाउँ नै फर्किए । कारण, भिक्षुको दैनिकीसँगै गुम्बाका गुरुमाहरूको सेवाको जिम्मा पनि उनीहरूकै थियो । जसोतसो त्यहाँ सात महिना बिताएका उनीहरूले बस्न नसक्ने बताएपछि परिवार घर फिर्ता ल्यायो ।

‘राम्रो पढाई हुन्छ भनेपछि छोरीहरूलाई त्यहाँ पठायौँ । तर त्यहाँको वातावरणमा घुलमिल हुन गाह्रो भएछ,’ मुनाकी आमा सुशीला विकले भनिन्, ‘गाउँबाट अरू बालबालिका गएपछि हामी पनि विश्वासमा पर्यौँ । तर, त्यहाँ सात महिनासम्म न स्कुलमा पढाइयो न त, गतिलो वातावरणमा बसाइयो । त्यहीँ भएर घरमा फिर्ता ल्यायौँ ।’

चार बहिनी र दुई भाइ गरेर आठ जनाको परिवार भएकाले उनीहरूलाई पढाउनै समस्या  भएपछि आफूहरूले गुम्बामा पठाउन बाध्य भएको उनले बताइन् ।

राम्रो पढाइको लोभमा आफूहरू त्यहाँ गए पनि व्यक्तिगत सेवामा बढी तल्लीन हुनुपर्ने भएपछि बस्न नसकेको मुनाले बताइन् ।

‘डाक्टर, इन्जिनियर बनाउँछौँ । त्यो पढ्नका लागि विदेशसम्म जान पाइन्छ भनेपछि हामी पनि खुसी भएर गएका थियौँ,’ उनले भनिन्, ‘बजारमा भिक्षा माग्न पठाउने, गुरुमाको कपडाहरू धुनुपर्ने, उहाँलाई तेल लगाएर सेक्नुपर्ने । सात महिनासम्म पनि कुनै स्कुलमा भर्ना नगरेपछि घर फर्काइयो ।’

त्यस्तै चौकुनेकै १४ वर्षीय गुञ्जन नेपाली पनि तीन वर्ष पहिला कक्षा ७ पढ्दापढ्दै लुम्बिनी गएका थिए । उनका परिवारले पनि राम्रो शिक्षाकै लोभमा गुञ्जनलाई बौद्ध धर्म अपनाउन लगाएर गुम्बामा पठाएका थिए ।

‘गाउँबाट अरू पनि गएका थिए । राम्रो पढाइ हुन्छ भनेपछि भाइलाई हामी आफैँले लुम्बिनी पुर्याएका थियौँ,’ गुञ्जनका दाइ ललित नेपालीले भने, ‘तर, पछि त्यहाँको रहनसहन र वातावरणमा भाइ बस्न सकेन । फर्काएर ल्यायौँ ।’

त्यस्तै अर्का ८ कक्षामा पढ्दै गरेका हिरा विक पनि लुम्बिनी गुम्बामा गएका थिए । उनी पनि सात महिना बढी बस्न सकेनन् ।  

‘बिहान ११ बजे एक छाक मात्रै खान मिल्छ । भिक्षा मागेर ल्याउनुपर्ने । त्यो सब देखेपछि मलाई बस्न मन लागेन, ‘एउटा गुम्बाको स्कुलमा ८ कक्षामा नाम लेखाइयो । परीक्षा पनि दिएँ । रिजल्ट नआएकै म घर आइहालेँ,’उनले भने, ‘त्यहाँको वातावरणमा भिज्न नै मुस्किल पर्यो । त्यसपछि गाउँ फर्केँ ।’

पहिला गाउँमै पढिरहेका उनीहरू चार जनामध्ये सोनु र गुञ्जनले मात्रै पढाइलाई निरन्तरता दिनसके । मुना र हिराले पढाई छोडे ।

कतै छैन तथ्याङ्क

पछिल्लो समय पढाइको लोभमा पारेर अनि बालबालिकाको धर्म परिवर्तन गराएर  कर्णालीबाट गैर कानुनी रूपमा जिल्ला बाहिर लैजाने समूह सक्रिय भएका छन् । तर तथ्याङ्क न प्रहरीसँग छ, न स्थानीय र प्रदेश सरकारसँग नै।

अभिभावक र गुम्बाका एजेन्टको मिलेमतोमा यी सबै काम हुने गरेकाले एकिन तथ्याङ्क नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएलसी वीर बहादुर ओलीले बताए ।

‘बालबालिकालाई पढाइको लोभमा अभिभावकले वडाको सिफारिस बनाएर गुम्बाका मान्छेहरूसँग सुटुक्क पठाउँछन्,’ प्रवक्ता ओलीले भने, ‘कुनै शङ्कास्पद घटना भए त हामीले निगरानी गरेकै छौँ । तर हामीलाई न वडाले न अभिभावकले सूचना दिन्छन् । त्यसैले यी विषय प्रहरीसम्म आइपुग्दैन ।’

२०८१ जेठ २१, २८ जना बालबालिकालाई गुम्बामा राखेर पढाउने भन्दै काठमाडौँ लैजाने क्रममा ३६ वर्षीय नाम्गेल छिरिङ लामा सुर्खेतमा पक्राउ परे । हुम्लाको सिमिकोट गाउँपालिका–३ का लामाले हुम्ला र मुगुका ती बालबालिकालाई काठमाडौँ लैजाँदै गर्दा सुर्खेत प्रहरीले २१ गते राति १२ बजे मानव तस्करीको आशङ्कामा वीरेन्द्रनगर–११ को तीनकुने चोकबाट नियन्त्रणमा लिएको थियो ।

उनले न त प्रशासन न त अभिभावकको मन्जुरीनामा ल्याएका थिए । वडाको सिफारिसमा मात्र बालबालिका लिएको हुँदा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

प्रहरी प्रशासन र अधिकारकर्मीहरूले ती बालबालिकालाई अभिवाकको जिम्मा लगाए । चार दिन हिरासत बसेर नाम्गेल छिरिङ लामा बिनासर्त रिहा भए । गलत मनसाय नभएको भनेर प्रहरीले उनलाई रिहा गर्यो ।

प्रहरीसँगको प्रारम्भिक बयानमा उनले ‘म हुम्लामै जन्मे‑हुर्केको मान्छे । गुम्बामै बसेर अध्ययन गरेँ । आफ्नो ठाउँका बालबालिकाको भविष्यको लागि लिन लागेको थिएँ।  वडाले पनि लिनका लागि अनुमति र सिफारिस दिएपछि ल्याएको हुँ’ भनेर बयान दिएका थिए ।

तर अनुसन्धानमा लामाले प्रक्रिया नपुर्याई बालबालिकालाई अन्यत्र लैजाँदै गरेको पाइएपछि पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बिरेन्द्रबिर विश्वकर्माले बताए । बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिकाको मन्जुरीविना आमा-बुवाबाट अलग गर्न नहुने उल्लेख छ ।

नेपालको संविधानको धारा २९ को शोषणविरुद्धको हकअन्तर्गत (३) मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बँधुवा बनाउन पाइने छैन भन्ने उल्लेख गरिएको छ भने धारा ३८ को महिलाको हक र धारा ३९ को बालबालिकाको हकको व्यवस्थाबाट पनि मानव बेचबिखन तथा ओसारपसारको कार्यलाई निषेध गरिएको छ ।

विद्यमान कानुन मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखन तथा ओसारपसारलाई स्पष्ट परिभाषित गरेको छ ।

समयको अन्तरालसँगै हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसँग बढी सम्बन्ध राख्ने तथा सहयोगी हुने अन्य केही ऐन तथा नियमावलीहरू पनि निर्माण भए ।

प्रत्येक स्थानीय तहमा बाल कल्याण अधिकारी तोकिएका छन् । सोही अनुसार संरक्षण र अभिभावकत्वको आवश्यकता परेका बालबालिकालाई सम्बन्धित पालिकाका बाल कल्याण अधिकारीले सिफारिस दिन सक्नेछन् । यसको जानकारी जिल्ला प्रशासनलाई समेत हुर्नुपर्ने कानुनी व्यवस्था छ ।

महिनैपिच्छे हराउँछ बालबालिका

विगत तीन आर्थिक वर्षमा कर्णाली प्रदेशबाट हराएका ८९ जना महिला र बालिका अझै फेला पर्न बाँकी छन् । आर्थिक वर्ष २०७८-२०७९ देखि २०८०-२०८१ सम्म कर्णालीबाट तीन हजार २ सय १९ व्यक्तिमध्ये ८९ जना महिला र बालिका  फेला परेका छैनन् ।

त्यसमा ७३ महिला र १६ बालिका छन् । १८ बालक अझै भेटिएका छैनन् ।

प्रहरी तथ्याङ्क अनुसार कर्णालीमा आर्थिक वर्ष ०७८-०७९ र ०८०-०८१ मा ८ सय ३३, र ५ सय ४ बालक हराए। आर्थिक वर्ष ०८१-०८२ को भदौ १५ सम्म मात्रै ५० बालक र ५९ बालिका कर्णालीबाट हराएका छन् । जसमध्ये ३० बालक र १५ बालिका अझै भेटिएका छैनन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार देशभर ०७५–०७६ देखि ०८२ साउनसम्म मानव बेचबिखनको जोखिममा परेका २८ बालक र ३ सय ३६ जना बालिकालाई उद्धार गरिएको देखिन्छ ।

कर्णालीका बालबालिकालाई घरेलु हिंसा, लैङ्गिक हिंसा, प्राकृतिक विपत्ति र भौगोलिक विकटताबाट जोखिम रहेको छ । कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार र ४१२ मध्ये ४० प्रतिशत बालबालिका छन् ।

२०७८ को जनगणना अनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका छन् । यसमा तीन लाख ४५ हजार ४२९ जना बालक छन् भने तीन लाख ३१ हजार ५५६ जना बालिका छन् ।

आर्थिक र सामाजिक रूपले कमजोर कर्णालीमा बालबालिका जोखिममा रहेको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था आवाजकी कार्यकारी निर्देशक पवित्रा शाहीले बताइन् ।

उनले प्रदेशका साढे ६ लाख बालबालिकामध्ये आधा बालबालिकालाई विभिन्न कारणले संरक्षणको आवश्यकता रहेको बताइन् ।

‘आर्थिक कारण यहाँका बालबालिकाहरूको धर्म परिवर्तनकोक्रम बढेको देखिन्छ । जसमा अभिभावक समेत प्रत्यक्षरुप संलग्न देखिन्छन् ।

उनले भनिन्, ‘त्यति मात्रै होइन, आर्थिक समस्याका कारण पढाइ छोडेर भारत लगायतका ठाउँमा काम गर्न पनि यहाँका बालबालिका पुग्ने गरेका छन् । यो समस्या समाधान गर्न सरकारले नै विशेष प्याकेज सहितको कार्यक्रम ल्याउन आवश्यक छ ।’

असोज २९, २०८१ बुधबार १५:२८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।