प्रचण्डको अनौठो प्रक्षेपण : केही समयमै नयाँ राजनीतिक वातावरण बन्नसक्छ, माओवादी सरकार परिवर्तन गर्न लाग्दैन

प्रचण्डको अनौठो प्रक्षेपण : केही समयमै नयाँ राजनीतिक वातावरण बन्नसक्छ, माओवादी सरकार परिवर्तन गर्न लाग्दैन

काठमाडौं : प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन्।

बुधबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आफूले मात्र नभइ धेरै मानिसहरूले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने संकेत गरेको उल्लेख गरे।

‘मलाई के लाग्छ भने यो सरकार जुन रूपमा र जसरी बन्यो सुरूमै मैले अनुमान गरिसकेको थिए। सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो। अहिलेको घटनाक्रमहरूले करिब-करिब त्यस्तै संकेत गरेको छ। हुनसक्छ केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ र धेरैको आंकलन पनि त्यही छ,’ उनले भने। 

तर, माओवादी केन्द्र सरकार परिवर्तन गर्नेतर्फ नजाने पनि स्पष्ट पारे। संगठन बनाउन र जनतामा जानेतिर पार्टी सक्रिय भएको उनको भनाइ छ। 

‘सरकार परिवर्तन गर्नेतर्फ माओवादी केन्द्र सक्रिय भएर लाग्दैन। जनतामा जानेतर्फ, संगठन बनाउनेतर्फ र जनतातिर फर्किनेतर्फ नै पार्टीले उच्च प्राथमिकतामा राख्नेछ। मैले भनेको छु यो सरकार गलत तरिकाले, बडो अप्राकृतिक, अपारदर्शी र अनैतिक रुपमा बनेकाले आफैं ढल्छ भने लाग्छ। हामीले धेरै मेहनत गर्नुपर्छ भन्ने नै लाग्दैन,’ अध्यक्ष दाहालले भने।

बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको टिप्पणी गर्दै आएका अध्यक्ष दाहालले यसअघि गठबन्धनमार्फत चुनाव लड्दा माओवादीको अस्तित्व नै हराउने देखिएकाले अब एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको बताउँदै आएका छन्। 

उनले विपक्षी दलहरूको मोर्चालाई बलियो पार्ने रणनीति लिएको प्रतिक्रिया दिँदै आएका छन्।

असोज २९, २०८१ बुधबार १४:३३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।