आठ वर्षसम्म अलपत्र बुटवलको साढे तीन किलोमिटर सडक बनाउन ३३ करोडमा नयाँ ठेक्का सम्झौता

आठ वर्षसम्म अलपत्र बुटवलको साढे तीन किलोमिटर सडक बनाउन ३३ करोडमा नयाँ ठेक्का सम्झौता

बुटवल : आठ वर्षसम्म अलपत्र रहेको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का सम्झौता भएको छ।

सडक स्तरोन्नतिका लागि भैरहवाको बावुल दर्शन मालिका जेभीसँग ६ लेन सडक विस्तारका लागि ३३ करोड रुपैयाँमा सम्झौता भएको छ।

उक्त कम्पनीले २०८२ असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी असोज १८ गते सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए।

सडकमा फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुनेछ। त्यस्तै सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइने छ।

यसअघि डिभिजन सडक कार्यालय बुटवलले सडक निर्माणको जिम्मा पाएको द कञ्चनजंघा विरुवा जेभीसँग सडक स्तरोन्नतिका लागि १७ चैत ०७३ मा ठेक्का सम्झौता गरेको थियो।

तर, सम्झौताको आठ वर्षसम्म पनि काम नगरेपछि डिभिजन सडक कार्यालय बुटवलले उक्त निर्माण कम्पनीसँग गत बैशाखमा ठेक्का रद्द गरेको थियो।

कञ्चनजंगा बिरुवा जेभी काठमाडौंले ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा आठ वर्षमा जम्मा ५४ प्रतिशत मात्र काम गरेको अवस्थामा ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको थियो।

२७ किलोमिटर लम्बाइ रहेको बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत तीन वटा ठेक्का लगाइएको थियो। जसमा एउटा ठेक्का तोडे पनि अरु दुई ठेक्काको काम पनि अझै पूरा भएको छैन।

यही सडक आयोजना अन्तर्गत भन्सार नाका बेलहीयादेखि डण्डाखोला पुलपारी सम्मको सडकमा चार वर्षदेखि कुनै पनि काम अगाडि बढ्न सकेको छैन।

अञ्चलपुर देखि लखनचोक सम्मको सडक बिरुवा एपेक्स श्रेष्ठ जेभी र भन्सार नाका बेलहीयादेखि डण्डाखोला पुलपारी सम्मको बिरुवा जेभी नाममा ठेक्का सम्झौता भएको थियो।

यी दुवै ठेक्काका आधिकारीक प्रतिनिधि सुवित श्रेष्ठ हुन्। उनी नेपाली कांग्रेस निकट निर्माण व्यवसायी हुन्।

असोज २९, २०८१ बुधबार ०९:०८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।